
काठमाडौं ।
सरकारले टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने सामग्री प्रकाशन/प्रसारण गर्नेलाई कानूनी कारबाही गर्ने भएको छ। गृह मन्त्रालयले हालै विज्ञप्ती प्रकाशित गरि यस्ता कार्य गर्नेहरुको पहिचान गरेर कारबाही गरिने चेतावनी दिएको छ।
हालै विज्ञप्ती प्रकाशित गरि मन्त्रालयले टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन टिकटकसँग सहकार्य गरेको जनाएको छ।
मन्त्रालयले टिकटक लगायतका सामाजिक सञ्जाल हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेको भन्दै यिनीहरुको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउने बताएको छ।
प्रेस विज्ञप्तीमा भनिएको छ, “सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्दछन्।”
गत साता शुक्रबार सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुर बीच सहकार्य बढाउने उद्देश्यले गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुबीच छलफल भएको उल्लेख छ।
गृह मन्त्रालयले जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ।
प्रकाशित: १९ कार्तिक २०८०, आईतवार