मोबाइल बितरकहरुको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न, मर्यादित व्यवसाय गर्न मन्त्रिको अाग्रह

Technology Khabar १६ चैत्र २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं। नेपाल मोबाइल बितरक संघले संस्थाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । मोबाइल बितरकहरुको छाता संगठनको रुपमा स्थापना भएको नेपाल मोबाइल बितरक संघको सो महाधिवेशन उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मर्यादितरुपमा मोबाइल व्यवसाय संचालन गर्नुपर्ने बताए ।

प्रविधिको विकास हुँदै गएपनि अपराधीहरुले प्रविधिको दूरुपयोग गरेको हुँदा त्यसलाई रोक्न पनि मर्यादित व्यवसाय मात्र गरिनुपर्ने बताए ।

‘तपाईँहरुले चोरी वा ठगीको मोबाइल सस्तो पाईयो भनेर नल्याउनुस्, अब मोबाइलको आईएमईआई नम्बर दर्ता हुनै पर्दछ र यसको लागि हामी प्रतिबद्ध छौं,’ उनले भने ।

उनले विभिन्न किसिमका मोबाइल सेटहरु बनाउँदा व्यवसायीहरुले बिगार्ने गरेको भन्दै यस्तो नगर्न चेतावनी दिए । उनले मोबाइल व्यवसायलाई व्यवस्थित बनाउन सबैको सहयोग हुनुपर्ने भन्दै अनावश्यक दबाब दिने कार्य नगर्न व्यवसायीलाई सचेत गराए ।

कार्यक्रममा मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन नेपालका अध्यक्ष दिपक कुमार मल्होत्राले व्यवसायीले राजस्वमा पाएको छुट उपभोक्ताहरुलाई दिईरहेको दाबी गर्दै राजस्व बढेमा मोबाइलको मूल्य बढ्ने दाबी गरे ।

उनले आईएमईआई लक गर्ने प्रणाली हटे ग्रे मार्केट हटेर जाने भन्दै त्यसको लागि सरोकारबाला निकाय लाग्नुपर्ने बताए ।

त्यस्तै टेलिटक प्रालिका प्रबन्ध निर्देशक संजय अग्रवालले आयातकर्ता र बितरकहरुबीच अझै कार्यगत एकता हुन नसकेको भन्दै रिटेलरहरुले अनावश्यक दुख दिने गरेको गुनासो गरे । अग्रवालले मोबाइल बजार उधारोमा फसेको भन्दै जति लगानी गर्नेपनि केहि नहुने अवस्था आएको बताए ।

मोबाइल बजारमा रिटेलरहरु हाबी भएको भन्दै त्यस्तो अवस्थालाई समाप्त पार्न डिलरहरु र आयातकर्ताहरु मिलेर जानुपर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष विनोद ढकालले ग्रे मार्केट मोबाइल बजारको लागि मात्र नभई अन्य इलेक्ट्रोनिक्स डिभाइसको बजारका लागि पनि चुनौती भएको भन्दै पछिल्लो दिनमा देखिएको साइबर क्राइमलाई रोक्न प्रयास गर्नुपर्ने बताए ।

प्रथम महाधिवेशनले संस्थाको विधान संसोधनका साथै नयाँ कार्यसमितीको समेत चयन गर्नेछ ।

प्रकाशित: १६ चैत्र २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया