Technology Khabar ३० आश्विन २०८०, मंगलवार
काठमाडौं ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडबाडका बेलामा सुरक्षा अनुगमनका लागि ड्रोनको प्रयोग गर्ने भएको छ। प्रहरीले यसैबीचमा सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ।
चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिए।
यस्तै सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ।
लङ्गुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्नेतर्फ सचेत बनौँ बन्न, मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ। रासस
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार