सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामरा ट्यापिङ सुरु

  • Technology Khabar | २७ आश्विन २०८०, शनिबार
सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामरा ट्यापिङ सुरु
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामरा ट्यापिङ सुरु गरेको छ। निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा बिहीबारदेखि माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको इकोलोजिकल मोनिटरिङ गर्न क्यामेरा ट्यापिङ्ग गरिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइने छ।

माडीको सोमेश्वर क्षेत्रबाट क्यामरा ट्यापिङको काम सुरु गरिएको छ। यसका लागि ६२ वटा क्यामरा दुई वर्गकिलोमिटरको फरकमा जडान गरिएको छ। तीनवटा ब्लकमा विभाजन गरी क्यामरा ट्यापिङको काम गर्न लागिएको हो।

एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिने छ। एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए। बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड निर्माण गरिने छ।

‘टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल’ कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाबारे अध्ययन गर्न लागिएको हो। उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीनओटा बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ।

सोमेश्वर पर्वतमाला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो। संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ ट्यापिङ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

क्यामरा ट्यापिङका लागि निकुञ्ज र तालका १५ कर्मचारी परिचालन गरिने छ। ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्ने गरी काम गर्न लागिएको हो।

प्रकाशित: २७ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...