नेपाल टेलिकमले एनटी फाइबर सेवामा थप स्पिड उपलब्ध गराउने, २५० प्रतिशतसम्म व्याण्डविथमा बढोत्तरी

  • Technology Khabar | २२ आश्विन २०८०, सोमबार
नेपाल टेलिकमले एनटी फाइबर सेवामा थप स्पिड उपलब्ध गराउने, २५० प्रतिशतसम्म व्याण्डविथमा बढोत्तरी

काठमाडौं ।

नेपाल टेलिकमले नेपाली चाडपर्वहरुलाई लक्षित गरी एफटीटीएच प्रविधिमा आधारित एनटी फाइबर (NT Fiber) सेवामा प्रोमोसनल अफरका रुपमा थप स्पिड उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकमले आगामी बिहिबार असोज २५ गतेदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ।

यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ।

सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।

यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहनुभएका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नुहुनेछ । यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहनुभएका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन्।

हाल ८० एमविपीएस सेवा लिइरहनु हुने सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ। यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी (Fair Usage Policy) लिमिटलाई समेत बढोत्तरी गरिएको उल्लेख छ।

साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमबी डाटा सेवाको सुविधा पनि उपलब्ध हुने बताईएको छ। यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *1416# डायल गर्नुपर्ने जनाएको छ।

प्रकाशित: २२ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...