हजारौं क्षेप्यास्त्रहरु आकाशमै ध्वस्त पार्ने इजराइलको आइरन डोम प्रणाली के हो ? जान्नुहोस्

  • Technology Khabar | २३ आश्विन २०८०, मंगलवार
हजारौं क्षेप्यास्त्रहरु आकाशमै ध्वस्त पार्ने इजराइलको आइरन डोम प्रणाली के हो ? जान्नुहोस्

काठमाडौं ।

इजराइलमा हमास समूहले आक्रमण गरेपछि इजरायल र प्यालेष्टाइन क्षेत्रमा युद्धको अवस्था रहेको छ। हमासको आक्रमणमा १० नेपालीसहित सयौं नागरिकहरुको निधन भएको रिपोर्टहरु आएका छन्। सो क्षेत्रमा वर्षौंदेखि देखिएको सबैभन्दा डरलाग्दो हिंसा अहिले चरम अवस्थामा आएको बताईएको छ।

हमास र अन्य प्यालेस्टिनी समूहले जमिनमार्फत आक्रमण गर्नुका साथै पछिल्लो दिनमा दैनिक सयौं रकेटहरु इजराइलतर्फ हानेका छन्। तर इजरायली सेनाकाअनुसार करिब ९० प्रतिशत रकेटहरू यसको प्रमुख आइरन डोम मिसाइल डिफेन्स सिस्टमले आकाशमा नै रोकेर ध्वस्त पार्ने गरेको छ। त्यसो हुँदा सघन बस्ती भएका इजराइली सहरलाई रकेटबाट जोगाउन सकिएको छ। 

अहिले इजराइलमा प्यालेस्टाइनका साथसाथै लेबनानतर्फबाट पनि रकेट आक्रमणहरु भईरहेको समाचारहरुमा उल्लेख गरिएको छ भने त्यसलाई इजरायलको प्रमुख आइरन डोम मिसाइल डिफेन्स सिस्टमले भेदन गरिरहेको छ।

यहाँ हामी इजराइलले तैनाथ गरेको आइरन डोम प्रणाली र त्यसको प्रमुख कार्यको बारेमा जानकारी दिने प्रयास गर्नेछौं।

किन विकास गरियो आइरन डोम प्रणाली ?

आइरन डोमलाई विशेष रूपमा छोटो दायराबाट हुने रकेट आक्रमण र खतराहरूबाट बचाउनको लागि डिजाइन गरिएको थियो। इजराइलले २००६ मा लेबनानको उग्रवादी हिज्बुल्लाह मुभमेन्टसँग लडेको युद्धमार्फत उनीहरूको सो प्रणालीको आधार तयार पारेका हुन्, त्यसबेला हजारौं रकेटहरू इजराइलमा हानिएका थिए र यसले ठूलो क्षति, जनधन नोक्सानी र दर्जनौंको मृत्यु गराएको थियो।

त्यसबेला हिज्बुल्लाहले हजारौँ पटक रकेट आक्रमण गरेर इजराइलमा ठूलो धनजनको क्षति पुर्याएको थियो।

त्यसपछि इजराइलले एक नयाँ मिसाइल डिफेन्स शिल्ड विकसित गर्ने बताएको थियो। उक्त परियोजनाका लागि सरकारले २० करोड डलरभन्दा बढी रकम उपलब्ध गराएको थियो।

आइरन डोम प्रणालीले कसरी काम गर्छ ?

यसलाई इजराइली कम्पनी राफेल एडभान्स डिफेन्स सिस्टम र इजरायल एयरोस्पेस इन्डस्ट्रीजद्वारा बनाईएको हो र यसमा केही अमेरिकी सपोर्टपनि रहेको छ। आयरन डोम सन् २०११ मा कार्यान्वयन आएको थियो। यो विश्वको सबैभन्दा एडभान्स प्रतिरक्षा प्रणालीहरुमध्ये एक हो। आइरन डोमले राडारको प्रयोग गरेर आउने खतराहरूले हानि गर्नु अगाडी नै त्यसलाई पहिचान गरेर आकाशमा नष्ट गर्दछ। 

आइरन डोममा इजराइल भरि प्रयोग गरिएको विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन्। त्यसका लागि इजराइलले अर्बौँ डलर खर्च गरेको छ। इजराइलतिर प्रहार गरिएका रकेटहरूको अवस्थिति पत्ता लगाउन उक्त प्रणालीले राडार प्रयोग गर्छ अनि तिनलाई निस्तेज पार्न दुई ओटा अवरोधक क्षेप्यास्त्र प्रहार गर्छ।

यो सबै मौसममा संचालन गर्न सकिने उपयोगी प्रणाली हो जसले विशेष गरी गाजाबाट आउने मिसाइल रकेटजस्ता छोटो-दायराका हतियारसँग लड्न मद्दतको लागि डिजाइन गरिएको थियो।

आयरन डोम विकास गर्नु महँगो थियो तर उत्पादकहरूले यो लागत प्रभावी भएको बताएका छन्। किनकि यसमा भएको टेक्नोलोजीका कारण यसले मानिस बसोबास क्षेत्रहरूमा आक्रमण गर्ने सम्भावित मिसाइलहरू र त्यसरी लक्ष्यमा पुग्न नसक्ने मिसाइलहरु बिच भिन्नता पत्ता लगाउन सक्दछ। स्थिर रहेको र मोबाइल एकाइहरूले खतराजन्य रूपमा परिभाषित कुनै पनि चीजलाई शूट-डाउन गर्न इन्टरसेप्टर मिसाइलहरू मात्र लन्च गर्दछ।

आइरन डोम परिचालन भएको एक दशकपछि, इजरायलले अहिले देशभरमा १० ओटा इन्टरसेप्टर मिसाइल ब्याट्रीहरू जडान गरेको छ, प्रत्येकले ३ देखि ४ प्रक्षेपणको साथ २० ओटा इंटरसेप्टर मिसाइलहरू चलाउन सक्छ।

हालको रकेट आक्रमणमा पनि सो आइरन डोमले इजराइललाई धेरै सुरक्षित बनाएको छ। जसले गर्दा एकाध रकेट मात्र मानव बस्तीमा खसेको बताईएको छ। 

सोही प्रणालीलाई छल्न र रोक्नेगरी हमासले मोटराइज्ड प्यालाग्लाइडिङ्गको प्रयोग गरेर मानिसहरुमाथि आक्रमण गरेको बताईएको छ। एजेन्सीहरुको सहयोगमा

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...