Technology Khabar २१ आश्विन २०८०, आईतवार
काठमाडौं ।
टेरामोस प्रणालीले कल ट्यापिङ नगर्ने टेरामोसको आपूर्तिकर्ता भ्यानराइज सलुसन्स एसएएलका प्राविधिक परामर्श मोहम्मद हर्ब्सले दाबी गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार टेरामोस सम्बन्धमा सत्य तथ्य तथा प्राविधिक जानकारीका लागि आयोजना गरेको कार्यक्रममा परामर्शदाता हर्ब्सले यस्तो दाबी गरेका हुन्।
टेरामोस प्रणालीले कल ट्यापिङ गर्ने कतिको सम्भावना छ भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले टेरामोस मार्फत कल ट्यापिङ सम्भवन भएको बताउँदै भने, ‘टेरामोस सेवा प्रदायकहरुको प्रणालीमा राखिने छ। टेरामोसले प्राप्त गर्ने डाटा सेवा प्रदायकको स्वीकृतिमा लिनु पर्छ।’ साथै टेरामोस प्रविधि कल ट्यापिङ गर्नका लागि डिजाइन नगरिएको उनको दाबी छ।
टेरामोसले सीडीआर अर्थात कल डिटेल रेकर्ड हेर्न सक्छ। तर ती सीडीआर इन्क्रिप्टेड हुने भएकाले प्रयोगकर्ताको नम्बर र नामको विवरण हुँदैन। त्यहाँ सीडीआरको एक मूष्ठ विवरण हुने भएकाले व्यक्तिगत विवरणमा पहुँच गर्न सकिँदैन।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गर्न, सेवा प्रदायकहरुको राजश्वको विश्लेषण गर्न, सेवाको गुणस्तर कायम राख्नका लागि टेरामोस प्रणालीको प्रयोग हुने उनको भनाई छ।
कम्पनीको टेरामोस जस्तै प्रविधि अफ्रिकी मुलुक घाना र आइवरी कोस्टमा पनि प्रयोग हुँदै आएको उनले जानकारी दिए।

२०७४ सालदेखि नियमित रुपमा दूरसञ्चार सेवा प्रदायकहरुको प्रयोगकर्ता बढ्दो क्रममा रहे पनि राजश्व घटेको कारणको सत्य तथ्य विवरण पत्ता लगाउन टेरामोस प्रविधि जाडान गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दाबी गरे।
‘२०७४ सालदेखि हालसम्म दूरसञ्चार सेवा प्रदायकहरुको राजश्व २५ अर्ब रुपैयाँले घटेको छ। यस्तै अवस्था रहे कमको केही वर्ष दूरसञ्चार सेवा प्रदायक ध्वस्त हुनेछन्,’ उनले भने, ‘घट्दो राजश्वको कारण एउटा सेवा प्रदायक बन्द भइसकेको छ।’ दूरसञ्चार कम्पनीलाई जोगाउनका लागि पनि टेरामोस आवश्यक भएको उनको दाबी छ।
दूरसञ्चार सेवा प्रदायकहरु टेरामोस प्रणाली जडान गर्न आनकानी गरिरहेका छन् भन्ने प्रश्नमा उनले भने, ‘हाल कम्पनीहरुले आफै राजश्वको विवरण उपलब्ध गराइरहेका छन्। हामीले पनि उनीहरुले उपलब्ध गराएको विवरणलाई सहि मान्नु परेको छ। ग्राहक बढे पनि राजश्व घट्नुको यर्थात हामीलाई बुझ्नु छ। सेवा प्रदायकले उपलब्ध गराएको विवरणलाई मात्र आधार मान्न सकिने अवस्था नभएकाले टेरामोस प्रणाली चाहिएको हो।’
यो पनि हेर्नुस्-
अख्तियार र सरकारलाई ‘काउन्टर’ दिन टेरामोसको बारेमा पत्रकार सम्मेलन गर्दै दूरसञ्चार प्राधिकरण
छानबिनमा रहेको टेरामोस प्रणालीको उपकरण जाँच गर्दै अख्तियारको टोली दूरसञ्चार प्राधिकरणमा
प्रकाशित: २१ आश्विन २०८०, आईतवार