भर्चुअल प्रणालीमा न्याय सम्पादन हुँदै

Technology Khabar २१ आश्विन २०८०, आईतवार

काठमाडौं ।

उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाले न्याय सम्पादनलाई छिटोछरितो र सहज बनाउन भर्चुअल माध्यमबाट सेवा दिन थालेको छ।

साबिक कर्णालीका पाँच जिल्लालाई न्यायिक सेवा लिनका लागि खर्चिलो र असहज भएका कारण भर्चुअल माध्यमबाट सेवा दिन थालिएको हो।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार यामप्रसाद बाँस्कोटाका अनुसार बिहीबार सेबाको परीक्षण गरिएको छ। उनकाअनुसार जुम्ला बाहिरबाट सम्बन्धित जिल्लाको अदालतमा गएर जुम लिंकमा जोडिएर अधिवक्ता तथा सेवाग्राहीले सेवा लिन पाउने छन्।

साबिक कर्णालीका मुगु, हुम्ला, कालीकोट र डोल्पाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालतमा पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रूपमा बहस, बकपत्र र तारिख बोक्न पाउने छन्। हुम्लाबाट जुम्लामा आउँदा एक हप्ता लाग्ने गरेको गुनासो आएपछि उनीहरूको सहजताका लागि प्रविधिमैत्री न्याय सम्पादन गर्ने कार्यको थालनी भएको छ।

न्याय महँगो भयो, छिटो न्याय पाएनौं भन्ने गुनासो कम गर्न यो प्रणालीले सहयोग पुग्ने अपेक्षा गरिएको छ। उच्च अदालत सुर्खेत जुम्ला इजलासका बरिष्ठतम न्यायाधीरा श्रीमणकुमार गौतमले अदालतले प्रबिधिको उच्चतम प्रयोग गरी न्याय सम्पादनलाई छिटोछरितो र कम खर्चिलो बनाउने अभ्यासको थालनी गरेको बताए। उनकाअनुसार अदालतका सबै सेवालाई सकेसम्म प्रबिधियुक्त बनाइने छ।

यसले गर्दा छिटो न्याय सम्पादन गर्न सहयोग पुग्ने छ। अनलाइन प्रविधिबाटै तारिख लिनेदेखि बकपत्र, मुद्दामा महललगायतका काम भर्नुअल रूपमै गर्ने अभ्यासले भौतिक रूपमै पेसी र तारिखमा अदालत धाइरहन नपर्ने बताइन्छ। गोरखापत्रबाट

प्रकाशित: २१ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया