Technology Khabar १८ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ ।
ती शोधपत्रमध्ये १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गर्नुभएको चट्याङविद् प्राडा श्रीराम शर्माले बताए। सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन्।
आज जलवायु परिवर्तन र यसले पारेको असरका साथै त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य परिस्थिति र चट्याङबाट हुने क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल भएको पनि उनको भनाइ थियो।
यस्तै चट्याङको पूर्वसूचना प्रणालीका विषयसमेतमा प्रस्तुत सोधपत्रमाथि पनि छलफल भएको छ। ललितपुरको पुल्चोकमा जारी सम्मेलनमा करिब १०० प्रतिनिधिको सहभागिता छ । हिजोदेखि सुरु तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका विज्ञहरुको सहभागिता छ ।
यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भइरहेको छ । मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माले जानकारी दिए।
चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिमयुक्त मुलकुमा पर्छ। अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने पनि उनले बताए। औषत वार्षिक १०० जनाले चट्याङमा ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको पाइन्छ।
बुधबार सम्मेलन उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले चट्याङजस्तो जटिल विषयमा नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिकको सहभागितामा सम्मेलन हुुनु महत्वपूर्ण भएको बताएकी थिईन्। सम्मेलन सफलताका लागि कामना गर्दै उहाँले मन्त्रालयबाट हुने आवश्यक साथ सहयोग र योजना निर्माणलाई प्राथमिकता दिइने पनि उल्लेख गरिन्। रासस
प्रकाशित: १८ आश्विन २०८०, बिहीबार