
काठमाडौं ।
काठमाडौं, ३० फागुन। सोसियल कमर्श प्लेटफर्म सगुनले भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्टी ओभरसिज प्रालि (एच्टी सिंगापुरसँग) ५० लाख अमेरिकी डलर अर्थात् ५० करोड नेपाली रुपैयाँ लगानीको सम्झौता गरेको घोषणा गरेको छ। एच्टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्टी मिडिया लिमिटेड (एच्टी मिडिया)को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।
एच्टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुने बतार्इएको छ । सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रुपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने विश्वास सगुनको छ। एच्टी मिडियाको स्वामित्वमा रहेका प्रकाशनहरुमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट तथा हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन् भने अन्य डिजिटल माध्यमहरु तथा एफ्एम् स्टेसन पनि रहेका छन् ।
‘हामी एच्टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्ताहरुसम्म पुग्नको लागि मद्दत गर्नेछ,’ सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने ।
सगुनले यस वर्षकै जनवरीमा सफलरुपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा सो सम्झौता भएको हो। दुई महिनामा नै सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको कम्पनीले जानकारी दिएको छ।
एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरु भइसकेका छन् ।
‘हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामीविश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं,’ हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने ।
यसअघि सगुनले अमेरिकी शेयर बजारमा लगानी रेगुलेशन एं अन्तर्गत ग श्रेणीका सामान्य शेयरहरु २३ अमेरिकी डलरको दरमा कम्तीमा एक हजार लगानी गर्नुपर्ने गरी निश्कासन गरेको थियो ।
शेयर निष्कासनपछि सगुनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्ने यसको सपनासँग सहमत ३ हजार भन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी उठाएको छ। कम्पनीले सन् २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी निजी स्तरमा उठाएको थियो । कम्पनीले हालसम्म पनि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट लगानी उठाइरहेको छ।
प्रकाशित: ३० फाल्गुन २०७४, बुधबार