
काठमाडौं ।
सामाजिक सञ्जालमार्फत साथी बनाइ जिमेल आईडीमा अनलाइन बेटिङ्ग एप फिफा एपको लिङ्क पठाएर अनलाइन ठगी गर्ने २८ वर्षीय दादिकि शेर्पा (राई)लाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर भोजपुर हतुवागढी गाउँपालिका भई हल काठमाडौँको टोखा बस्ने शेर्पाले पीडितको फेसबुक, ह्वाट्सएप, भाइबरबाट साथी बनेर अनलाइन गेम खेलाउन फिफा एप (FIFIIA App) इन्स्टल गर्न लगाइ ११ लाख २७ हजार रुपियाँ ठगी गरेका हुन्।
व्यक्तिगत विवरण समेतअपडेट गर्न लगाइ पीडितलाई सोही एपबाट आर्थिक कारोबार गर्न नेपालको कानुन बमोजिम हुने भनेर विश्वास दिलाएको प्रहरीले जानकारी दिएको छ।
अनलाइन गेमको विज्ञापन राखेर पीडितलाई अनलाइन बेटिङ गेम खेल्न रकम जम्मा गर्न लगाउने र रकम डिपोजिट गरेको ९० मिनेटभित्र १.४८ प्रतिशतका दरले फाइदा हुने झुटा आश्वासन दिई प्रलोभन दिने गरेको प्रहरीले बताएको छ।
निजलाई ठगी तथा सट्टाबाजी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार