
काठमाडौं ।
बुढानिलकण्ड नगरपालिकाले नगरभित्र इन्टरनेट तथा केबुलको तार काट्न शुरु गरेको छ। नगरपालिकाले सडक पोलका अव्यवस्थित र लत्रिएका तार काट्न शुरु गरिएको जानकारी दिएको छ।
तार काट्ने कार्य असोज २ गते मंगलबार बुढानिलकण्ठ नगरपालिकाको मुख्य सडकमा इन्टरनेटको तार काटेर गरिएको थियो।
तार काटेर कार्यक्रम उद्घाटन गरेसँगै इन्टरनेट सेवा प्रदायकहरुले भने रोष प्रकट गरेका छन्।
“अब इन्टरनेटको तार काटेर कार्यक्रम उद्घाटन गर्ने दिन पनि देख्नुपर्ने भो। सेवा प्रदायकहरु कतिसम्म निरिह छन भनेर देखाउँछ,” एक सेवा प्रदायकले भने, “यस्तोमा सम्बन्धित निकाय र नेपाल दूरसञ्चार प्राधिकरणको ध्यान किन जाँदैन् ?”
उता नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले तार काट्ने कार्य निरन्तर जारी हुने जानकारी दिए। उनले तार व्यवस्थापनको अभियान शुरु भएको भन्दै सहकार्य गरिएको बताए।
“तार काटेरै उद्घाटन गरेको त थाहा भएन्,” उनले भने, “तर सेवा प्रदायकहरुसँगको सहकार्यमा नै तार व्यवस्थापन शुरु गरिएको हो। उनीहरुलाई समेत जानकारी गराईएको छ।”
उनकाअनुसार यस्तो व्यवस्थापन कार्य हाल नगरपालिकाको मुल सडकमा मात्र भएको भन्दै त्यसलाई निरन्तरता दिईने जानकारी दिए।
यसअघि बुढानीलकण्ठ नगरपालिकाले भदौ २४ गते सूचनामार्फत नगरभित्र अव्यवस्थित रूपमा रहेका केवल तार व्यवस्थापन गर्नका लागि सो सम्बन्धी कार्यदल समितिको मिति भदौ २१ गतेको बैठकको निर्णय बमोजिम बुढानीलकण्ठ मुख्य सडकका केवल तार व्यवस्थापन कार्य सुचारु गरिने जानकारी दिएको थियो।
जसमा प्रत्येक सेवा प्रदायक संस्थाहरुबाट कम्तिमा दुई जना कर्मचारीहरू र केवल तार व्यवस्थापनमा चाहिने आवश्यक उपकरणहरूसहित अनिवार्य उपस्थितिको लागि भनिएको थियो।
सोही सूचनामा कुनै सेवा प्रदायक संस्थाहरुको उपस्थित नभई केबल तार काटिएमा नगरपालिका जवाफदेही नहुने समेत स्पष्ट पारेको थियो।
प्रकाशित: ३ आश्विन २०८०, बुधबार