Technology Khabar ३१ भाद्र २०८०, आईतवार
काठमाडौं ।
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ।
खानेपानी पाइपमा ‘सुपरभाइजर कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो।
चुहावट नियन्त्रण गरी खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आधुनिक प्रविधि ‘स्काडा’ जडान गरिएको छ। यसले कुन क्षेत्रमा कति पानी प्रवाह भएको छ र चुहावट कहाँ कति भएको छ भन्ने अनुगमन गर्न सकिने हुँदा मुहानबाट वितरण हुने पानी र ग्राहककोमा खपत भएको पानीलाई अनुगमन सहयोग पुग्ने कावासोती खानेपानीको अध्यक्ष दीपक लम्सालले बताए।
स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ। एडिबीको सहयोगमा स्काडा प्रणाली ४ करोड खर्चमा जडान गर्न लागिएको हो । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानीमा ३० प्रतिशत चुहावट हुने गरेको छ।
विशेषगरि जाडो याममा पानीको पाइप फुट्ने हुँदा पानी चुहावट भएपनि अहिले नारायणघाट बुटवल सडक विस्तारका क्रममा रहेकाले धेरै चुहावट हुने गरेको कावासोती खानेपानी संस्थाका व्यवस्थापक बाबुराम ज्ञवालीले बताए। संस्थाले कावासोतीमा रहेका ९ हजार ४२ घर धुरीमा खानेपानी वितरण गर्दै आएको छ।
संस्थाबाट अहिले प्रतिसेकेण्ड एक सय ८३ लिटर पानी उत्पादन हुँदै आएको अध्यक्ष लम्सालले बताए। खानेपानीलाई नियमित रूपमा आवश्यकता अनुसार वितरणका लागि विभिन्न स्थानमा २ वटा ओभरहेड ट्याङ्की, ४ वटा रिजर्भ ट्याङ्की समेत निर्माण गरिएको उनले जानकारी दिए।
प्रकाशित: ३१ भाद्र २०८०, आईतवार