
काठमाडौं ।
स्याङ्जाको वालिङ नगरपालिकाले सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको छ। पालिकाले कृषिको ब्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ भने न्याय व्यवस्थापन प्रणालीलाई समेत प्रविधिमैत्री बनाएको छ।
पालिकाले सञ्चालनमा ल्याएको कृषि तथा पन्तु एपको प्रयोगबाट कृषकले आफ्ना उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न सक्ने नगर प्रमुख कृष्ण खाणले जानकारी दिए।
कृषकको सम्पूर्ण बिबरण व्यवस्थित सूचना प्रणालीमा राखिएको जानकारी दिँदै प्रमुख खाणले अब तथ्याङ्कका आधारमा अनुदान र राहतका कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए। पशु तथा कृषि बस्तुमा लाग्ने रोगको बिनबाट राय तथा सुझाब पालिकाले प्रदान गर्ने कृषि तथा पशुसम्बन्धी जानकारी दिइने छ।
पालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्यालले माटो परीक्षण गरी कुन ठाउँमा के लगाउँदा राम्रो भन्ने जानकारी तथा उद्यमीको बिबरणसहित बाताबरणीय अवस्थाको जानकारी तत्कालै उपलब्ध हुने जानकारी दिए।
न्यायिक व्यवस्थापन प्रणालीमार्फत सेवाग्राहीले न्यायसम्बन्धी पूर्ण जानकारी प्राप्त गर्ने नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक कविता तिवारीले जानकारी दिए। उनकाअनुसार सेवाग्राहीले मेलमिलापसम्बन्धी जानकारी, मुद्दाको फैसला, दरपिट, सम्बन्धित निकायमा गरिएको पत्रमारलगायत सूचना सहज रूपमा पाउन सकिन्छ।
पालिकाले सुरु गरेको अपाङ्गतामैत्री नागरिक बडापत्रले फरक क्षमता भएका नागरिकलाई सहज हुने पालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले नगरबाट प्राप्त गर्ने सेवालाई सुनेर, देखेर, छोएर साथै सांकेतिक भाषाको प्रयोग गरेर सहजै जानकारी प्राप्त गर्ने जानकारी दिए।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको पालिकाले प्रविधि र यसका क्षेत्रमा विभिन्न काम गर्दै आएको जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: ३० भाद्र २०८०, शनिबार