
काठमाडौं ।
नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ। ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकहरुमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिबृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताए । उनले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम सुरु गरिसकिएको उल्लेख गरे।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्ने बताए। उनले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गरे।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पोखराको सौन्दर्य वृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने कार्य भइरहेको बताए। उनले विद्युत् आपूर्ति सुधारका लागि संरचना निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र सहजीकरण गरिदिन महानगरपालिकालाई आग्रह गरे।
पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ ओटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ ओटा हाइमास्ट लाइट जडान गरिएको छ।
महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार सात वटा सडक बत्ती जडान गरिएको छ। जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती रहेका छन्। सडक बत्ती जडान अयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ रहेको छ।
कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो। स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ। पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ। सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ।
सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेरबाट विद्युत्को महसशुलको बिलिङ गरिन्छ । महशुल महानगरपालिकाले तिर्ने छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्नेछ। सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा रहेको छ।
प्रकाशित: १८ भाद्र २०८०, सोमबार