
काठमाडौं ।
आकाशमा हुने घटनाहरू पत्ता लगाउने विश्वका धेरै प्रमुख खगोलीय पर्यवेक्षकहरूले साइबर आक्रमणको सामना गरेका छन्।
साइबर आक्रमणका कारण सबै वेधशालाहरू (अब्जर्भेट्रीज) अस्थायी रूपमा बन्द गर्नुपरेको थियो। किन आक्रमण भयो ? कसले गर्यो? अनि कहाँबाट ? यसबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
जसरी अन्तरिक्ष उद्योगले गति लिइरहेको छ, साइबर आक्रमणकारीहरूले यसलाई लक्षित गरिरहेका छन्। गत वर्ष अक्टोबरमा, ह्याकरहरूले चिलीमा अटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर एरे (ALMA) को सञ्चालनलाई असर पारेका थिए। अमेरिकी अन्तरिक्ष एजेन्सीले धेरै वर्षदेखि यस्ता आक्रमणको सामना गर्दै आएको छ।
राष्ट्रिय अप्टिकल-इन्फ्रारेड खगोल विज्ञान अनुसन्धान प्रयोगशाला अर्थात् नोइरल्याब (NOIRLab) ले भर्खरै भएको साइबर आक्रमणको विवरण साझा गरेको छ। यो साइबर आक्रमण गत महिनाको सुरुमा अगस्त १ मा भएको बताइएको छ। जसका कारण अमेरिकाको हवाईमा रहेको जेमिनी नर्थ टेलिस्कोप र चिलीमा जडान गरिएको जेमिनी साउथ टेलिस्कोपको सञ्चालन अस्थायी रूपमा बन्द गर्नुपरेको थियो। चिलीमा जडान गरिएका धेरै साना टेलिस्कोपहरू पनि यस आक्रमणबाट प्रभावित भएका थिए।
नोइरल्याबको वेबसाइटले यसका कर्मचारीहरूले आक्रमणबाट प्रभावित टेलिस्कोप र यससँग सम्बन्धित वेबसाइट मर्मत गर्ने प्रयास गरिरहेको बताएको छ। यो काम साइबर सेक्युरिटी विज्ञहरुसँगको सहकार्यमा भइरहेको छ।
आक्रमणको कारण भने खुल्न सकेको छैन। साइबर आक्रमण कसले र कहाँबाट गरायो भन्ने पनि खुलेको छैन। केही समयअघि अमेरिकाको नेशनल काउन्टरइन्टेलिजेन्स एण्ड सेक्युरिटी सेन्टरले बुलेटिनमा अमेरिकी अन्तरिक्ष कम्पनीहरूलाई चेतावनी दिएको थियो। जसमा साइबर हमला वा जासुसी हुनसक्ने भनिएको थियो।
बुलेटिनमा भनिएको थियो कि साइबर आक्रमणकारीहरूले अमेरिकी प्रविधि र भविष्यका मिसनहरू जान्न अन्तरिक्ष कम्पनीहरू र तिनीहरूका परियोजनाहरूलाई लक्षित गर्न सक्छन्।
प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार