
काठमाडौं ।
नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अबदेखि निस्शुल्क फुड डेलिभरी सुरु गरेको छ।
‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु निस्शुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए।
पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सब मनाउँदै छ। आफ्नो वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन निशुल्क डेलिभरी योजना सार्वजनिक गरेको थापाले जानकारी दिए। यो महिना अरु पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ।
बिहान ९ बजे देखि राती ३ बजे सम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधीको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ।
गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो। त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो। सो फुड फेस्टपछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापले जानकारी दिए।
फुड फेस्ट बाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ।
कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दावी छ।
प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार