काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार क्षेत्रका दुई प्रमुख निकायका नेतृत्वहरुको काम कारबाही प्रति असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादन मूल्यांकन गरिरहेको खुलासा भएको छ।
मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण तथा सरकारी टेलिकम अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का प्रमुखहरुको कार्यसम्पादनको मूल्यांकन गरिरहेको स्रोतहरुले जानकारी दिएका छन्।
नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको कार्यशैली प्रति चित्त नबुझेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले कार्यसम्पादन मूल्यांकन र छानबिन गरिरहेको स्रोतहरुले दाबी गरेका छन्।
टेक्नोलोजीखबरलाई फरक-फरक तीन स्रोतहरुले यस बारेमा जानकारी दिएका हुन्। पछिल्लो समय दुबै निकायका प्रमुखहरुको काम गराईसँग मन्त्री शर्मा रुष्ट भएको सो विषयमा जानकार पहिलो स्रोतले बताएको छ।
“यसअघि नै दुबै निकायका प्रमुखलाई स्पष्टिकरण सोध्ने तयारी भएको थियो। तर सिधै सोध्नु उचित नहुने भन्दै मूल्यांकन शुरु भएको हो,” स्रोतले भन्यो।
स्रोतहरुकाअनुसार सञ्चार मन्त्री शर्माका सूचना प्रविधि सल्लाहकारको नेतृत्वमा दुबैको कार्यसम्पादन हेर्ने काम भईरहेको छ। यसको लागि अनौपचारिक कमिटी गठन गरिएको छ भने सोही कमिटीलाई सबै हेर्ने जिम्मा दिईएको छ।
“अहिले आईटी विज्ञको नेतृत्वमा हेरिँदैछ। दुबैलाई त्यसपछि स्पष्टिकरण सोधिनसक्छ,” अर्को दोस्रो स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दियो।
दूरसञ्चार प्राधिकरणका अध्यक्षसँग विशेषगरी हालको टेरामोस वा टेरामोक्स समेत भनिने प्रणालीको बारेमा मन्त्रीले आफ्नो असन्तुष्टि जाहेर गरिसकेकी छन्। टेरामोस जसरी पनि लागू गर्ने तयारी प्राधिकरणले गरेसँगै मन्त्रीले यस बारेमा थप अध्ययन गर्न र स्पष्ट पारेर मात्र लागू गर्न भनेको अर्को स्रोतले दाबी गरेको छ।
जसमा प्रधानमन्त्रीले नै हाल टेरामोस लागू नहुने र रोक्न भनिरहेको बेलामा प्राधिकरण अध्यक्ष र कमर्चारीहरुले भने मिडियामा बयानबाजी गरेको भन्दै आपत्ति जनाईएको छ।
“केहि समयअघिदेखि टेरामोस जडान नगराउन नेपाल टेलिकमले मन्त्रालयमा निरन्तर अनुरोध गरेको थियो। सचिव ज्यू र मन्त्री ज्यूलाईसमेत टेलिकम प्रमुखसहितको टोलीले जानकारी गराएको थियो,” स्रोतले भनेको छ, “तर प्राधिकरणले पटक पटक चेतावनी दिँदै टेलिकमलाई पत्र पठाएपछि थप तनाव आएको हो।”
मन्त्री र प्राधिकरणका अध्यक्षको सम्बन्ध चिसिएसँगै प्राधिकरणले पठाएको चालु आर्थिक वर्षको प्रस्तावित बजेटसमेत हाल मन्त्रालयमा रोकिएको बताईएको छ।
यस्तैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई समेत दिईएको निर्देशनहरु पालना नगरेको र कार्यसम्पादन कमजोर देखिएको भन्दै स्पष्टिकरण सोध्ने तयारी गरिएको अर्को एक स्रोतले जानकारी दिएको छ।
टेलिकमले पछिल्लो समय निकालेका विभिन्न टेन्डरहरुको बारेमा निरन्तर विवाद हुनु र मिडियाहरुमा दैनिकजसो समाचार आएपछि मन्त्रालय र टेलिकमका प्रबन्ध निर्देशक पौडेलबीच पनि विवाद भएको बताईएको छ।
यसका साथै उनको नियुक्ति प्रकृया नै विवादिद रहेको भन्दै त्यसलाई पनि ‘नोट’ गरिएको छ।
दुबै निकायका प्रमुखहरुको कार्यसम्पादन समेत भने जस्तो नभएको र यसले दूरसञ्चार क्षेत्र नै सुस्ताउन सक्ने आशंकाका साथ छानबिन र मूल्यांकन भइरहेको मन्त्रालय स्रोतले समेत बताएको छ।
“दुबैको कार्यसम्पादन मूल्यांकन भईरहेको र मन्त्रालयले यसै साता पनि बोलाएरै असन्तुष्टि जाहेर गरेको छ। कसरी समाधान हुन्छ भन्न सकिँदैन्,” मन्त्रालय स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।
यस बारेमा सोध्दा संचारमन्त्री शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले त्यो मन्त्रालयको नियमित प्रकृयाअन्तरगतको काम भएको बताए।
“त्यो मन्त्रालय प्रशासनले गरिरहेको होला। हामीले यस बारेमा केहि गर्दैनौं। मन्त्री ज्यूले समग्र मन्त्रालयलाई नै निर्देशन दिने हो। अन्य विषय थाहा भएन,” उनले भने।
प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार