
काठमाडौं ।
काठमाडौं महानगरपालिकाबाट सञ्चालित छात्रवृत्ति परीक्षाका लागि खाली हुन आएका सिटमा भर्नाका लागि दोस्रो तथा अन्तिम भर्ना सूची प्रकाशन गरिएको छ।
काठमाडौ महानगरपालिकाबाट साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको सूचीका आधारमा परीक्षार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न साउन २७ गतेसम्म समय प्रदान गरिएको थियो।
उक्त समयमा प्राथमिकता निर्धारण गरेका उम्मेदवारको योग्यताक्रम र प्राथमिकताका आधारमा साउन ३१ गते प्रथम भर्ना सूची प्रकाशन भएको उल्लेख छ।
सूचीमा परेका विद्यार्थीको भर्ना गर्न भदौ ३ गतेसम्म म्याद दिइएको थियो भने उक्त समयमा भर्ना नगरी खाली हुन आएका सिटहरुमा भर्नाका लागि दोस्रो भर्ना सूची प्रकाशन गरिएको उल्लेख छ।
तालिकाअनुसार तोकिएको शिक्षण संस्थामा भर्ना हुन जान सम्बन्धित सबै विद्यार्थीलाई सूचित गरिएको सूचनामा बताइएको छ। विद्यार्थी भर्नासम्बन्धी उल्लेखित समय तालिकाअनुसार भर्ना हुन “Check your Status” मा गई अध्ययनका लागि सिफारिश भएको शिक्षण संस्थाको पत्र डाउनलोड गर्नु पर्नेछ।
त्यसपछी सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन जान तथा शिक्षण संस्थाले समेत विद्यार्थी भर्ना गरी यस विभागमा रिपोर्टिङ गर्न अनुरोध गरिएको छ।
त्यस्तै, माध्यमिक तहमा प्राविधिक धारका कक्षा ९ र १० अध्ययन गरेका विद्यार्थीले मात्र कक्षा ११ को प्राविधिक धारका विषयमा भर्ना हुन पाउने उल्लेख छ। पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय डिल्लीबजारका हकमा छात्रालाई मात्र भर्ना दिइने जानकारिमा उल्लेख छ। दोस्रो तथा अन्तिम भर्ना भदौ ५ गते सुरु हुने र अन्तिम भर्ना मिति भदौ ८ रहेको बताइएको छ।
प्राथमिकता क्रममा नरोजेको शिक्षण संस्थामा आफूभन्दा मुनिको योग्यताक्रमको विद्यार्थी छनोट भएमा कुनै दाबी नलाग्ने पनि सूचनामा उल्लेख छ।
प्रकाशित: ६ भाद्र २०८०, बुधबार