चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्नका लागि दौडः भारतीय चन्द्रयान-३ र रुसी लुना-२५ प्रतिस्पर्धा गर्दै

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार
चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्नका लागि दौडः भारतीय चन्द्रयान-३ र रुसी लुना-२५ प्रतिस्पर्धा गर्दै

काठमाडौं ।

पछिल्लो समय भारत र रुसबिच चन्द्रमामा को पहिले पुग्ने भन्ने प्रतिस्पर्धा देखिएको छ। जसले विश्वभर चर्चा बटुलिरहेको छ भने मानिसहरु उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन्।

भारतको चन्द्रयान–३ मिसन १४ जुलाईमा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उडेको थियो। इसरोले २३ अगस्टको साँझ चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ।

उता रुसले पनि लुना–२५ अन्तरिक्ष यान ११ अगस्टमा चन्द्रमाको यात्रामा पठाएको छ। यो पनि दक्षिण ध्रुवमा नै अवतरण हुने तालिका रहेको छ र यो यान भारतको चन्द्रयान ३ भन्दा पहिले नै अवतरण हुने विषयले अन्तरिक्ष क्षेत्र तातेको छ।

अहिलेसम्म भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने विश्वको पहिलो मिसन हुने दाबी गरिएको थियो । तर यो मिसनलाई रुसले चुनौती दिएको छ । रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रयान–३ अघि नै चन्द्रमामा पुग्न सक्ने बताइएको छ।

यसले गर्दा दुबै देशहरुबीच सो क्षेत्रमा को पहिला पुग्ने भन्ने प्रतिस्पर्धा र चर्चा चुलिएको हो।

टाइम्स अफ इन्डियाको रिपोर्टमा रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसलाई उद्धृत गर्दै रुसको लुना-२५ अन्तरिक्ष यानलाई चन्द्रमामा जान मात्र ५ दिन लाग्ने बताईएको छ। रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न सक्ने तीनवटा सम्भावित स्थल पहिचान गरेको छ। तर, अवतरण गर्नुअघि लुना–२५ अन्तरिक्षयान चन्द्रमाको कक्षमा ५ देखि ७ दिनसम्म रहनेछ। रिपोर्टमा भनिएको छ कि दुबै मिसन एकै साथ अवतरण हुन सक्छ वा लुना-२५ अन्तरिक्ष यान पहिले नै चन्द्रमामा अवतरण हुन सक्नेछ।

रुसले १९७६ पछि चन्द्रमाको पहिलो भ्रमण गरिरहेको छ, जब यसको सोभियत युगको नमूना फिर्ता गर्ने मिसन लुना-२४ सम्पन्न गरिएको थियो। लुना-२५ ले शक्तिशाली रकेटका साथमा चन्द्रमामा थप सीधा मार्ग लिएर, अगस्ट २१ मा चाँडै अवतरण प्रयास गर्न सक्ने स्पेसन्यूजले रिपोर्ट गरेको छ।

यति छिटो पुग्नु कसरी सम्भव छ ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासादेखि चीनको स्पेस एजेन्सी र अब रुसले आफ्नो अन्तरिक्ष यान ४ देखि ५ दिनमा चन्द्रमामा लैजान सक्ने भएका छन् । यसको तुलनामा, इसरोले यो कार्य ४० दिनमा पूरा गर्दैछ।

अर्को एक रिपोर्टका अनुसार पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निस्कन शक्तिशाली रकेट आवश्यक छ। यदि तपाईं चन्द्रमामा सीधै पुग्न चाहनुहुन्छ भने, तपाईंलाई अझै शक्तिशाली रकेट चाहिन्छ। अमेरिका र चीनले निकै शक्तिशाली रकेट र प्रविधि प्रयोग गरेर ४ दिनमा चन्द्रमाको यात्रा पूरा गरेका छन् । रुसले पनि त्यस्तै गरेको छ। यस्तो अन्तरिक्ष यानका लागि धेरै इन्धन र पैसा लाग्छ। उही समयमा, इसरोले धेरै कम इन्धन र कम बजेटमा चन्द्रमामा मिसनहरू पठाउँदैछ। त्यही भएर ४० दिन लाग्नेछ।

कुन पहिले अवतरण हुनेछ?

यी अन्तरिक्ष यानहरू कहिले अवतरण हुनेछन् भन्ने मुख्य कारक सूर्यको प्रक्षेप पथको समय भएको स्पेसन्यूजले उल्लेख गरेको छ। यी प्रोबहरूको सम्बन्धित अवतरण स्थानहरूमा सूर्य उदाइरहेको हुनुपर्छ किनभने सूर्यको किरणले सतहमा अन्तरिक्ष यानलाई शक्ति प्रदान गर्नेछ। अर्को कारक भनेको जब प्रोबको अर्बिटहरू अवतरण साइटहरू माथिबाट जान्छन् त्यससँग सम्बन्धित छ। लुना-२५ र चन्द्रयान-३ दुवै ध्रुवीय चन्द्रमाको परिक्रमामा हुनेछन्, र त्यसबेलामा अर्बिटले माथिको परिक्रमा गरे जस्तै चन्द्रमाले तल घुम्नेछ।

भारतको चन्द्रयान-३ ले ६९.३७˚एस ३२.३५˚ई मा अवतरण स्थललाई लक्षित गर्दैछ। यस क्षेत्रमा अगस्ट २१ जीएमटी मा सूर्य प्रारम्भिक रूपमा उदाउनेछ, जसको अर्थ सौर्य उर्जाबाट चल्ने विक्रम ल्यान्डर र प्रज्ञान रोभरका लागि अगस्ट २३ मा भारतीय समयअनुसार बेलुकाको ५:४७ मा अवतरण गर्दा प्रकाश उपयुक्त हुनेछ।

यसैबीच, लुना-२५ ले ७२.९˚एस४३.२˚ई मा बोगुस्लाव्स्की नामक क्रेटरलाई लक्षित गर्दैछ। यो क्षेत्र धेरै टाढा पूर्वमा भएको हुनाले, सूर्य यस साइटमा अगस्ट २० भन्दा पहिले नै उदाउनेछ, जसको अर्थ आंशिक रूपमा सौर्य ऊर्जाबाट चल्ने लुना-२५ पहिले नै अवतरण गर्न सक्नेछ। यद्यपि यो चन्द्रमाको कक्षमा लुना-२५ प्रवेश गर्ने र रोस्कोस्मोसको योजनामा निर्भर हुनेछ।

विक्रम र प्रज्ञान सौर्य उर्जाबाट संचालित छन् र त्यसमा एक चन्द्र दिनको समय (लगभग १४ पृथ्वी दिन) को मिशन लाइफटाइम छ, त्यसैले छिटै अवतरण गर्नु यानसँग उपलब्ध समयमा कति हासिल गर्न सक्नेछ भन्ने कुराको लागि महत्वपूर्ण हुनेछ।

तथापि,  लुना २५ यानलाई  रेडियो आइसोटोप थर्मोइलेक्ट्रिक जेनरेटर (आरटीजी) ले प्याक गरिएको छ जसले कम्तिमा एक वर्षसम्म ल्यान्डरलाई काम गर्न आवश्यक ताप र शक्ति प्रदान गर्दछ। यसको अर्थ रुसी यानका लागि स्थानीय चन्द्र दिनको सुरुमा अवतरण समय यस्तो प्राथमिकता नहुन सक्छ।

हाल रुस र भारत दुवैको लक्ष्य चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्नु हो। यदि यो काम कुनै अवरोध बिना सम्पन्न भयो भने, यो ठूलो जीत हुनेछ। तर यसमा को पहिला पुग्ने भन्ने प्रतिष्ठाको विषय समेत बन्न सक्नेछ।

यदि रुस चन्द्रमामा छिट्टै पुगेर पनि मिसनमा असफल भयो भने त्यो उसको लागि ठूलो झट्का हुनेछ। यस्तै भारतको चन्द्रयान ३ पनि चन्द्रमामा सहजरुपमा अवतरण गर्न सकेन भन्ने फेरी अर्को लामो समय कुर्नुपर्ने हुन्छ।

त्यसैले चन्द्रमासम्म पुग्नु ठूलो कुरा होइन। त्यहाँ मिसनलाई सफलतापूर्वक अवतरण गराउनु ठूलो उपलब्धि हुनेछ।

किनकी यसअघि जापान र इजरायलका मिशनहरु चन्द्रमामा ल्याण्ड गर्ने समयमा असफल भएका थिए।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार