Technology Khabar २८ श्रावण २०८०, आईतवार
काठमाडौं ।
सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पक्राउ पर्नेमा सुमित कुशवाहा, प्रकाश श्रीवास्तव, राहुलकुमार र रवीन्द्रप्रसाद कुर्मी रहेका छन्। चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इप्रका बिर्तामोडका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
पक्राउ परेकाहरू वीरगन्ज निवासी रहेको र उनीहरूले बिर्तामोडमा बसेर ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जाल ह्वाटसएपमार्फत तपाईंलाई आईफोन, ल्यापटप, घडी उपहार पर्यो भन्दै उपहार प्राप्त गर्न भन्सार र करको पैसा जम्मा गर्न लगाउने गरेका प्रहरीले जनाएको छ।
उनीहरूले इभा सोफिया नाम भएको फेसबुकको म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई आफू स्विडेनको एक तेल र ग्यास कम्पनीको म्यानेजर भएको र कम्पनीको तर्फबाट आईफोन, ल्यापटप, घडी जस्ता उपहार पर्यो भन्दै ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रनाउ कार्कीले बताए।
प्रकाशित: २८ श्रावण २०८०, आईतवार