बिएस्सी सीएसआईटीमा भर्ना हुने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा तालिका प्रकाशित

  • Technology Khabar | २६ श्रावण २०८०, शुक्रबार
बिएस्सी सीएसआईटीमा भर्ना हुने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा तालिका प्रकाशित

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि-बिएस्सी सीएसआईटी (B.Sc.CSIT) को नयाँ भर्नाका आवेदन माग गरेको छ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयकाअनुसार यसको लागि प्रवेश परीक्षा तालिका प्रकाशित गरिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेड सिस्टमअनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त २०८० सालको लागि प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी कार्यक्रम प्रकाशित गरिएको हो।

जसअनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा २०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि अनलाइन आवेदन दिने अवधि साउन ३२ गतेदेखि भदौ २६ गतेसम्म तोकिएको छ।

यसको लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रवेश परीक्षा सम्बन्धी वेबपेज (www.iost.tu.edu.np/) मा आवेदक स्वयमले भरी अनलाइनबाट नै आवेदन सोही वेबसाइटमार्फत सबमिट गर्नुपर्ने छ।

उक्त वेबपेज साउन ३२ गते विहान १० बजे देखि खुला गरिने जनाएको छ।

आवेदन फाराम बुझाउनका लागि भदौ २६ गतेसम्मको समय तोकिएको छ। भने दोब्बर दस्तुर तिरेर भदौ २७ गतेदेखि भदौ ३१ गतेसम्म आवेदन अनलाइनमा बुझाउन सकिनेछ।

बिएस्सी सीएसआईटीमा भर्ना हुनका लागि प्रवेश परीक्षाको आवेदन फाराम दस्तुर तथा प्रवेश परीक्षा शुल्क १ हजार ८५० रुपैयाँ तोकिएको छ।

डिनको कार्यालयले प्रवेश परीक्षा हुने मिति, समय र परीक्षा केन्द्र पछि प्रकाशित गरिने  जानकारी दिएको छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार