
काठमाडौं ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणबाट ५ अर्ब भन्दा धेरै रकम लगेको छ। अर्थ मन्त्रालयले बुधबार साउन २४ गते दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणबाट ५ अर्ब ३३ करोड ५५ लाख १९ हजार ७ सय पचपन्न रुपैयाँ लगेको हो।
प्राधिकरणमा जम्मा हुने गरेको रकममध्ये सरकारले गत आवको बजेटको आधारमा प्राधिकरण कोषबाट रकम संघीय संचित कोषमा लाने व्यवस्था गरेअनुसार सरकारले उक्त रकम लगेको हो।
सरकारले आर्थिक ऐनमार्फत वार्षिकरुपमा दूरसञ्चार ऐन, २०५३ लाई संसोधन गर्दै रकम लाने बाटो खुला गरेको छ।
ऐनको दफा ४४ को उपदफा (४) मा “उपदफा (१) वमोजिमको कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रम वमोजिम खर्च भएको रकम र सो को पचास प्रतिशतले हुन आउने रकम वाहेकको अन्य रकम प्राधिकरणले प्रत्येक वर्ष साउन २५ गतेभित्र सङ्घीय संचित कोषमा दाखिला गर्नु पर्ने” भन्ने व्यवस्था रहेको छ।
जसअनुसार प्राधिकरणले यस वर्ष ५ अर्ब भन्दा बढि रकम सरकारको कोषमा दाखिला गरिदिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
प्राधिकरणको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम वमोजिम खर्च भएको रकम र उक्त बजेट रकमको पचास प्रतिशतले हुन आउने रकम सञ्चित राखेर बाँकी हुन आउने रकम जम्मा गरिदिएको स्रोतले जनाएको छ।
“यसअघिको भन्दा यस पटक केहि बढि रकम सरकारलाई पठाईएको छ। गत आवमा बजेट केहि बढि खर्च भएको हुँदा सरकारले लाने रकम थपिएको हो,” स्रोतले दाबी गर्यो।
सरकारले हरेक वर्ष लाने उक्त रकम संघिय संचित कोषअन्तरगत सेवामूलक निकायबाट प्राप्त हुने लाभांस शीर्षकअन्तरगत पठाईएको बताईएको छ।
यसअघि सरकारले ग्रामिण दूरसञ्चार विकास कोषमा जम्मा भएको रकमसमेत लगेको थियो। तर पछिल्लो समय आर्थिक ऐनलाई आधार बनाएर प्राधिकरणको कोषमा भएको रकम लाने गरेको छ।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार