काठमाडौं ।
दोलखाको भीमेश्वर नगरपालिका-७ मा पहिरो पूर्वसूचना प्रणाली पहिलो फेज (एलइडब्लुएस) उपकरण जडान गरिएको छ।
भीमेश्वर नगरपालिकाको दुई प्रमुख जलाधार क्षेत्र सुष्पाक्षमावती र चर्नावती क्षेत्रमध्ये चर्नावती जलाधार क्षेत्रभित्रको सिगरानगाउँको माथिल्लो भागमा माटोको चिस्यान नाप्ने उपकरणसहितको बर्सातको पानी नाप्ने उपकरण जडान गरिएको वडाध्यक्ष बिनोद तामाङले जानकारी दिए।
उनकाअनुसार यहाँको चर्नावतीखोला र आसपासको क्षेत्र सबैभन्दा बढी वर्षा हुने क्षेत्रमा पर्छ। वर्षा हुने र माटो पनि खुकुलो भएपछि लामोसाँघु–जिरी सडक निर्माणको क्रममा समेत आयोजनालाई पहिरो रोक्न ठूलै लागत र मेहनत गर्नुपरेको थियो।
स्विस सरकारको सहयोगमा सन् १९७५ देखि १९८५ सम्म चलेको सडक निर्माण आयोजनाले लामोसाँघुदेखि जिरोसम्म ११० किलोमिटर सडक निर्माण गर्न लाग्ने लागत बराबरको खर्च गरेर चर्नावती क्षेत्रको पहिरो रोक्न सफल भएको बडाध्यक्ष तामाङले जानकारी दिए।
हाल यो स्थानमा सडक दुई लेनको बनाउँदा पनि घट्टेखोलादेखि चर्नावतीखोलासम्म छेउभित्ता कटिङ नगरी पहिलाकै अवस्थामा राखिएको छ। यसै क्षेत्रको नजिकै पर्ने सियारामगाउँका स्थानीयले वर्षापछि पहिरोको समस्या धेरै पहिलेदेखि भोग्दै आएका छन्।
यस उपकरणको जडानले बर्षा र त्यसपछि आउने पहिरोबारे सूचना दिन सक्ने भएकाले धनजनको क्षति कम हुने र रोकथामका लागि थप योजना बनाउन सहज हुने अपेक्षा गरेको वडाध्यक्षले बताए। गोरखापत्रबाट
प्रकाशित: १४ श्रावण २०८०, आईतवार