
काठमाडौं ।
भ्वाईस सेवा प्रदायकले प्रत्येक आर्थिक वर्षमा दुई किसिमका फेस्टिवल र प्रमोस्नल अफर संचालन गर्न पाउने भएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको भ्वाईस सेवा प्रदायकहरुले विभिन्न किसिमका अफर लागू गर्दा पालना गर्नु पर्ने टर्मस एण्ड कन्डिसन सम्बन्धी व्यवस्थाहरु सम्बन्धमा परामर्श पत्र यस्तो उल्लेख छ।
यसरी अफरहरु संचालन गर्दा एक पटकमा बढीमा १० वटा सम्म मात्र र एक आर्थिक वर्षमा बढीमा कुल सय वटा सम्म मात्र विभिन्न किसिमका प्रोडक्ट/ प्याकेजहरु फेस्टिवल अफरको रूपमा लागू गर्न सक्नेछ भने एक आर्थिक वर्षमा बढीमा २५ वटा सम्म विभिन्न किसिमका प्रोडक्ट/ प्याकेजहरु प्रमोस्नल अफरको रुपमा लागू गर्न सक्नेछ।
साथै फेस्टिवल अफर संचालन गर्न पाउने अधिकतम् समयसीमा १५ दिनको हुनेछ भने प्रमोस्नल अफर संचालन गर्न पाउने अधिकतम् समयसीमा ३ महिनाको हुनेछ। यसरी अफर मार्फत लागू हुने प्रोडक्ट/ प्याकेजहरु गणना गर्दा शुल्क/महशुलदर, समयावधि सुविधा लगायतका विषयहरु फरक परेको खण्डमा उक्त प्रोडक्ट/ प्याकेजहरुलाई छुट्टाछुटै मानिनेछ।
सरकारले तोकेको विभिन्न किसिमका चाडपर्व, उत्सव तथा दिवसहरुको उपलक्ष्यमा सेवा प्रदायकहरुको प्राधिकरणबाट स्वीकृत नियमित शुल्क / महशुलदर ( Regular Standard Approved Tariff) भन्दा थप सहुलियत तथा सुबिधा उपभोक्ताले प्राप्त गर्ने गरि विभिन्न किसिमका प्रोडक्ट/ प्याकेजहरु फेस्टिवल अफर को रुपमा संचालन गर्नु पर्नेछ।
प्राधिकरणबाट स्वीकृत गरिएको स्वीकृत नियमित शुल्क / महशुलदर ( Regular Standard Approved Tariff) संग सम्बन्धित विभिन्न किसिमका प्रोडक्ट/ प्याकेजहरु भन्दा फरक किसिमका विशेषता भएको प्रोडक्ट/ प्याकेजहरु लाई प्रमोस्नल अफर को रुपमा संचालन गर्नु पर्नेछ।
संचालन गर्ने फेस्टिवल अफर र प्रमोस्नल अफरहरु लागू गर्नु पूर्व कम्तिमा ७ अगाडी नै प्राधिकरणलई पूर्व जानकारी गराएर मात्र लागू गर्नु पर्नेछ. यसरि प्राधिकरणलाई पूर्व जानकारी गराउदा निवेदनमा सम्बन्धित अफर लागू हुने मिति स्पष्ट उल्लेख गर्नु पर्नेछ।
फेस्टिवल अफर संचालन गर्दा उपभोक्ताले थप सहुलियत तथा थप सुविधा नपाउने भएमा उक्त प्रोडक्ट/ प्याकेजहरु फेस्टिवल अफर को रुपमा पुनः संचालन गर्न पाउने छैन।
संचालन हुने प्रमोस्नल अफर पुनः लागू गर्नु पर्ने भएमा सम्बन्धित सेवा प्रदायकहरुले समयमानै सम्बन्धित प्रोडक्ट/ प्याकेजहरुको शुल्क / महशुलदर को नियमित स्थायी स्वीकृतिको लागि नियमानुसार प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ।
संचालन गर्ने फेस्टिवल अफर र प्रमोस्नल अफरहरु लागू गर्नु उपभोक्ता तथा सर्वसाधारणलाई समेत सूचना मार्फत पूर्व जानाकरी गराउनु पर्नेछ। यसरि लागू गरिएको फेस्टिवल अफर र प्रमोस्नल अफरहरु उपभोक्ताले तोकिएको समयसीमाभित्र व्यावहारिक रुपमा उपभोग गर्न सक्ने अफरहरु मात्र लागू गर्नु पर्नेछ।
संचालन गर्ने फेस्टिवल अफर र प्रमोस्नल अफरहरु लागू गर्दा के कति कारणले अफरको रुपमा लागू गरेको हो ? सो को स्पष्ट व्यहोरा खुलाई प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ।
प्रमोस्नल अफरको संख्या अपुग भएमा सेवा प्रदायकले प्राधिकरणसँग आवश्यक समन्वय गर्न सक्नेछ र सो सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक निर्णय गर्न सक्रेछ।
प्राधिकरणले तयार गरेको परामर्श पत्रका सम्बन्धमा राय सुझाव पनि माग गरेको छ। यस्तो राय सुझाव साउन २४ गते भित्र उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरको छ।
प्रकाशित: ११ श्रावण २०८०, बिहीबार