
काठमाडौं ।
बाजुराको बडीमालिका नगरपालिका-८, मार्तडीमा रहेको नालिका मावि विद्यालयले कक्षाकोठामा बालबालिकालाई पढाउन प्रयोग गर्दै आएको हवाइट बोर्ड, मार्कर, डस्टरलगायतका सामग्रीलाई हटाएको छ।
कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पठनपाठन गराउन प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड राखेपछि बिद्यालयले पहिला प्रयोग हुँदै आएका ह्वाइट बोर्ड, मार्कर र डस्टरलगायतका शैक्षिक सामरी हटाएको हो।
यो समय क्रमअनुसार पठनपाठन गर्ने विधिको सुरुवात भएसँगै पूराना शैक्षिक सामग्रीले परिणाम नदिएपछि विद्यालयमा शिक्षकले पढाउँदा पहिला प्रयोग गर्दै आएका ह्वाइट बोर्ड, मार्कर र डस्टर हटाएको मालिका माविका सूचना अधिकारी शेरबहादुर रावलले बताए।
उनले ह्वाइट बोर्ड, मार्कर र डस्टर हटाएर अहिले सबै कक्षाकोठामा स्मार्ट बोर्ड राखेपछि शिक्षकहरूले विद्यार्थीलाई पठनपाठन गराउँदा निकै सहज भएको बताए । २०७९ सालमा स्मार्ट बोर्डबाट केही कक्षामा मात्र पढाइ गरे पनि शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १२ सम्म नै यो विधिबाट पढाउने गरेको सूचना अधिकारी रावलले बताए।
मालिका माविका कक्षा २ का छात्रा वर्षा विकले भने, “योभन्दा पहिला शिक्षकले पढाउँदा ह्वाइट बोर्ड प्रयोग गरेर पढाउनु हुन्थ्यो। त्यसमा लेखेर पढाएको कुरा बुझ्न कठिन हुन्थ्यो। अहिले कक्षाकोठामा स्मार्ट बोर्ड राखेपछि श्रव्य र दृष्य दुबै हुने भएकाले शिक्षकले पढाएको कुरा सबै राम्रोसँग बुझिने गरेको छ। शिक्षकले ह्वाइट बोर्डमा लेखेको अक्षर नबुझेर अल्मलिनुपर्ने दिनको अब अन्त्य भएको छ।”
अहिले स्मार्ट बोर्डबाट पढाइ हुन थालेपछि विद्यार्थीले प्रत्यक्ष देख्ने र सुन्ने गर्दै आएपछि आफूहरूको पढाइप्रति रुचि बढ्दै गएको विकले बताईन्।
स्मार्ट बोर्डमा पठनपाठन गर्दा विद्यार्थीको सिकाइप्रतिको रुन्नि बढ्ने अपेक्षा गरेको सो विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय तिमिल्सिनाले बताए। यसले शिक्षकलाई पनि शिक्षण गर्न निकै हौसला बढ्नुका साथै विद्यार्थीलाई समेत विषयवस्तुको बुझाइमा सहजता ल्याउने उनको अपेक्षा छ। गोरखापत्रबाट
प्रकाशित: ३ श्रावण २०८०, बुधबार