
काठमाडौं ।
नेपाल टेलिकमले सेवाग्राहीलाई देशभरका अधिकांश स्थानमा विभिन्न प्रकारका दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ। सेवा सञ्चालनका लागि आवश्यक उर्जाको व्यवस्थापन पावर विभागमार्फत गरिन्छ। पावर विभागले हाल यी सबै कार्यका लागि जेनेरेटर, एयर कन्डिसनर, व्याट्री, रेक्टिफायर र यूपीएस आदि पावर उपकरणको प्रयोग गरिरहेको छ।
यसमा ग्राहकलाई दिगोरुपले गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि यी पावर उपकरणहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ। कतिपय अवस्थामा एउटै स्थानका लागि समेत वैकल्पिक पावर सप्लाईको व्यवस्था गरिएको हुन्छ। पछिल्लो समयमा विश्व बजारमा भित्रिरहेका नयाँ प्रविधिहरु समेत प्रयोग गरेर पावर सप्लाइलाई अझ दिगो र भरपर्दो बनाउने कार्य पनि निरन्तर चलिरहेको छ। यसका साथै कार्यगत खर्च कम गर्ने प्रयास पनि भइरहेको उल्लेख गरेको छ।
हाल दूरसञ्चार कार्यालय सुन्धारा, विराटनगर, छाउनी, पोखरा र केन्द्रीय कार्यालयमा समग्रमा ३२८ किलोवाटको ग्रिड टाई सोलार सिस्टम (Grid Tie Solar System) सञ्चालनमा रहेको छ। सञ्चालनमा आएपश्चात हालसम्म १ करोड २० लाख रुपैयाँभन्दा बढीको विद्युत उत्पादन भइसकेको टेलिकमको भनाई छ। यसबाट आगामी दिनमा समेत विद्युतका लागि उपयोग गरिने खर्च कटौती हुनजाने अपेक्षा गरिएको छ।
दूरसञ्चार कार्यालय पाटनबाट पावर अप्टिमाइजेसन वर्क (पीओडब्लु/POW) प्रारम्भ गरिएकोमा हाल विभिन्न साइटहरुमा अविच्छिन्न रुपमा यो कार्य भइरहेको जनाएको छ। भरतपुरमा पीओडब्लुPOW सम्पन्न भइसकेको छ भने जनकपुर, राजविराज, हेटौंडा, बुटवल, सुन्धारा र नेपालगन्जमा जारी रहेको छ। यसवाट विद्युत तथा इन्धन खपतमा कमी आई टेलिकम कम्पनीको विद्युतको बिल घटाउन मद्दत पुगेको छ। त्यसैगरी पावर सिस्टमको विश्वसनियता समेत बढाएको दाबी गरेको छ।
देशका विभिन्न स्थानमा लोड घटिरहेको अवस्थामा ट्रान्सफर्मरको डाउनसाइजिङ्ग गरी अधिकतम डिमान्ड शुल्कमा कमी ल्याउने कार्य भइरहेको छ । यस अनुसार अत्तरियामा ५०० केभीएबाट २०० केभीए, पाटनमा १५०० केभीएबाट ७५० केभीए तथा धरानमा २०० केभीएबाट ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान कार्य भइरहेको छ। यसका साथै जेनेरेटरहरुको इन्धन खपत दर पनि पहिले भन्दा कम हुँदै गइरहेको छ।
देशका विभिन्न स्थानमा जडान भएका जेनेरेटरहरुमा रिमोट मोनिटरिङ एन्ड कन्ट्रोल (Remote Monitoring and Control) प्रणाली कार्यान्वयनमा लगिएको छ। यसका लागि हालसम्म ३० स्थानमा सो कार्य भइसकेको छ भने बाँकी १५० भन्दा बढी स्थानमा यो प्रणाली जोड्ने योजना रहेको छ। यसमा निश्चित स्थानबाटै जेनेरेटर चलाउन सकिने, अलार्म, इन्धनलगायतको अवस्थाका बारेमा जानकारी प्राप्त गर्न सकिने भएकाले दुर्गम स्थानमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। जसले दिगो सेवाका लागि मर्मत सम्भार समेत तुलनात्मक रुपमा छिटो सम्पन्न गर्न सकिन्छ।
यसका साथै एक्सचेन्ज, ट्रान्समिसन कोर आदि टेलिकम उपकरणको ब्याट्री, भोल्टेज तथा रूम टेम्परेचर आदि NTRMS एपबाट मोनिटरिङ गरिएको छ। यो सिस्टम विभिन्न ८० स्थानमा जडान भइसकेको छ भने बाँकी १०० भन्दा बढी स्थानमा पनि क्रमशः सन्चालन गरिने योजना रहेको छ। हाल यो सिस्टमलाई स्तरोन्नति गर्ने कार्य समेत भइरहेको छ।
नेपाल टेलिकमले पावर सप्लाईका लागि हालसम्म भीआरएलए ब्याट्री प्रयोग गर्दै आएको छ। मौसमअनुसार तापक्रम घटबढ हुने स्थानमा यी ब्याट्रीको कार्यसम्पादनमा असर पर्ने सम्भावना पनि रहन्छ। यस समस्याको समाधान स्वरुप कम्पनीले पछिल्लो समयमा नयाँ प्रविधिका स्मार्ट लिथियम-आयोन ब्याट्री प्रयोग गर्ने तयारी गरेको छ। हाल यी व्याट्रीहरु प्राप्त हुने चरणमा रहेका छन्। त्यसैगरी उच्च पहाडी र हिमाली क्षेत्रहरुका लागि हिटिङ्ग सिस्टम भएको लिथियम आयोन ब्याट्री प्राप्त हुने क्रममा छ। यी ब्याट्रीको प्रयोग पश्चात जुनसुकै मौसममा पनि ब्याट्रीले उत्तिकै क्षमतामा काम गर्ने र पावर ब्याकअप बलियो हुने अपेक्षा गरिएको छ।
टेलिकमले सेवाको विश्वसनियता बढाउनका लागि डिसी पावर सिस्टमलाई ड्यूल सिस्टममा परिवर्तन गर्ने कार्य पनि भइरहेको छ। यसमा ९६ प्रतिशतसम्मको हाइ इफिसिएन्सि क्षमता भएका रेक्टिफायरको प्रयोग गरिंदै आएको छ। नेपाल टेलिकमले हाल मध्य पहाडी लोकमार्गका विभिन्न स्थानका साथै जीएसएम कोर नेटवर्कमा समेत यो सिस्टमको प्रयोग गरेको छ। आगामी दिनमा मुख्य ब्याकबोन लिंकलाई समेत ड्यूल पावर सिस्टममा परिवर्तन गर्ने योजना रहेको छ ।
विभिन्न सोलार चार्ज कन्ट्रोलरहरुको कमजोर कार्यसम्पादन रहेको गुनासा आएका र एकरुपता समेत नरहेको अवस्थामा हाल ग्रिड तथा सोलार दुईवटै चल्ने हाइब्रिड रेक्टिफायर प्रणालीलाई प्रयोगमा ल्याउने योजना टेलिकमको रहेको छ। यसलाई सोलार, सोलार र सिटी सप्लाई वा आवश्यकता अनुसार कुनैपनि तरिकाले चलाउन सकिन्छ । यसले पावरको विश्वसनियता बढाउनुका साथै इनर्जी बिल बचत गर्नेछ ।
विभिन्न स्थानमा रहेका रिपिटर साइटहरूमा अर्निङ्ग सिस्टममा कमजोरी भएर चट्याङले विभिन्न उपकरणमा क्षति पुयाउने घटना पनि यदाकदा देखिने गरेको थियो । यसको समाधानका लागि पावर विभागले आवश्यक अध्ययन तथा अनुसन्धान गरी इक्विपोटेन्सियल अर्थिङ्ग (Equipotential Earthing) को अवधारणा ल्याएको छ। यसलाई ३० भन्दा बढी साइटहरूमा प्रयोगमा ल्याएर परीक्षण सफल भइसकेको छ। सो अवधारणालाई आगामी दिनमा क्रमशः अन्य साइटहरुमा समेत कार्यान्वयन गर्दै लगिने छ।
पावर विभागले दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्रसँग सहकार्य गरी आगामी वर्षमा पावर सिस्टमका अत्याधुनिक प्रविधिहरु डिजेल इन्जिनमा हाइड्रोजनको प्रयोग, सोडियम आयोन ब्याट्री, स्मार्ट इनर्जी स्टोरेज, हाइड्रोजन इथानोल फ्युल सेल, पेरोभ्रिकट सोलार सेल, भर्टिकल विन्ड टर्बाइन तथा नेचुरल कुलिङ सिस्टमको बारेमा अध्ययन र अनुसन्धान गर्ने योजना समेत बनाएको जनाएको छ।
प्रकाशित: २ श्रावण २०८०, मंगलवार