एक करोड १८ लाख जित्दै, नेपाली टिम डीआरएस पीएमडब्ल्यूआई २०२३ को फाइनलमा

Technology Khabar २९ असार २०८०, शुक्रबार

काठमाडौं ।

नेपाली पब्जी टिम डीआरएस गेमिङ पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२३ को फाइनलमा पुगेको छ। पीएमडब्ल्यूआईको सेमिफाइनलको रुपमा रहेको अलस्टार्स स्टेजमा तेस्रो स्थानमा रहँदै डीआरएस मुख्य इभेन्टका लागि छनोट भएको हो।

अलस्टार्स स्टेजमा तेस्रो भएसँगै डीआरएसले आकर्षक पुरस्कार राशी ९० हजार अमेरिकी डलर १ करोड १७ लाख ९१ हजार नेपाली रुपैयाँ जितेको छ।

फाइनलमा डीआरएसले आफूले प्राप्त गर्न सक्ने पुरस्कार राशी अझै बढाउन सक्नेछ। फाइनलको कुल पुरस्कार राशी २० लाख अमेरिकी डलर रहेको छ। यसमा पहिलो हुने टिमले ४ लाख ३० हजार अमेरिकी डलर र अन्तिम हुने टिमले पनि ५५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

असार २६ गतेदेखि साउदी अरबको रियादमा आयोजना भएको पीएमडब्ल्यूआईको अल स्टार्स स्टेजको पहिलो र तेस्रो दिन मध्यम सुरुवात गरेको डीआरएसले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गरेको थियो। डीआरएसले अल स्टार्स स्टेजमा कुल १८ खेलमा १५३ प्वाइन्ट प्राप्त गरेको थियो।

आज असार २९ गतेदेखि पीएमडब्ल्यूआईको मुख्य इभेन्ट आयोजना हुनेछ। अलस्टार्स इमेन्टमा शीर्ष ६ स्थानमा रहेका टिम र आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेर मुख्य इमेन्टका लागि छनोट भएका १० टिमले अब उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्। अलस्टार्स इभेन्टमा सहभागी अल्फा सेभेन मुख्य इभेन्टका लागि छनोट भएकाले सातौ स्थानमा रहेको इन्फिनिटी आईक्यूले पनि फाइनलमा खेल्नेछ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया