पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

  • Technology Khabar | २६ असार २०८०, मंगलवार
पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

काठमाडौं ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। नगरले सोमबार तेह्रौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो।

सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले प्रस्तुत गरेको बजेट सर्वसम्मतले पास गरिएको छ।d

विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय रु ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट रु.२० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जनसहभागितासहित रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो।

नगरको नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय व्ययसहितको बजेट पास भएको छ। यस्तै सभाले २०७९/८० को वार्षिक प्रतिवेदन तथा नगरले गरेका निर्णय अनुमोदन गरेको छ। यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो।

नीति तथा कार्यक्रममा ‘पनौती नगरको दिगो विकासको आधारः गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ नारालाई सार्थक बनाउन समृद्ध पनौती निर्माण अभियानलाई तीव्रता दिने उल्लेख छ।

डिजिटल पनौतीको अवधारणालाई पूर्णता दिने, सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’को व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने लगायतका विषयसमेत नीति तथा कार्यक्रममा राखिएको जनाइएको छ।

सो अवसरमा अर्थ विधेयक, विनियोजन विधेयक, २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति गठन कार्यविधि–२०८०, लेखा समिति प्रतिवेदन, न्यायिक समिति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित: २६ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार