
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालू आर्थिक वर्षदेखि सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले अनलाइनमार्फत नै फ्रिक्वेन्सी एवम् अन्य दस्तुर तथा रोयल्टी राजस्व बुझाउनुपर्ने बताएको छ।
मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै अनलाइनमार्फत नै फ्रिक्वेन्सी एवम् अन्य दस्तुर तथा रोयल्टी राजस्व बुझाउने व्यवस्था गराउन भनेको हो। मन्त्रालयले हालको अनुभवमा रोयल्टी राजस्व तिर्न सो प्रणाली प्रभावकारी र उपयुक्त भएको भन्दै महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी आफू रहे बसेकै स्थानबाट अनलाइन बुझाउन सकिने उल्लेख गरेको छ।
मन्त्रालयले प्राधिकरणबाट इजाजत प्राप्त नेपाल राज्यभित्र सञ्चालनमा रहेका दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरुले निजहरुको सेवाप्रदायक इजाजत आवधिक नवीकरण गर्दा प्रचलित नेपाल कानून बमोजिम सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी एवम् अन्य दस्तुर तथा रोयल्टी राजस्व रकम महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी आफू रहे/बसेकै स्थानबाट अनलाइन बुझाउन सक्नेगरी व्यवस्था मिलाउन पत्रमा भनेको हो।
“मन्त्रालयको आर्थिक प्रशासन शाखाबाट गत २०७९ आषाढदेखि परीक्षणको रूपमा सहजीकरण/सम्पादन गरिंदै आएको, यस क्रममा करिव ५० भन्दा बढी सेवाप्रदायकहरूले यस विधिबाट खास गरी रोयल्टी राजस्व सुरक्षित रूपमा बुझाउन सफल भएको अनुभवलाई आगामी दिनमा गुणात्मक परिणाम हासिल हुने गरी देहायको Operating Procedure सहित तहाँ प्राधिकरणमार्फत् सबैमा इ-मेलद्वारा प्रवाह गरिदिनु हुन हाल सञ्चालनमा रहेका सवै सेवा प्रदायकहरूको इ-मेल ठेगाना समेतको विवरण यस मन्त्रालयमा शीघ्र उपलब्ध गराउन्,” मन्त्रालयले पत्रमा भनेको छ।
यसका साथै मन्त्रालयले राजस्व बुझाउने प्रणाली संचालनको तरीका समेत जानकारी दिएको छ।
यसका साथै प्राधिकरणले सवै सेवा प्रदायकहरूलाई अद्यावधिक नवीकरणका निमित्त आवश्यक पर्ने कागजातहरू आफ्नो कार्यालय अभिलेखमा प्राप्त हुने गरी अपलोड गर्न लगाई तत्काल दाखिला गर्नुपर्ने राजस्व रकम यकिन गरी पठाइदिने भनिएको छ भने दाखिला गर्नुपर्ने राजस्व रकम महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी अनलाइन आफू रहे बसेकै स्थानबाट दाखिला गर्न लगाउन भनेको छ।
यस निम्ति इन्टरनेट जोडिएको डेस्कटप वा ल्यापटप कम्प्युटरमा यस कामका लागि तोकिएअनुसारको ‘अपरेटिङ्ग प्रोसेड्यूर’ उल्लेख गरी सम्पूर्ण सेवा प्रदायकहरुलाई पत्राचार गर्न समेत सुझाब दिएको छ।
यसरी गर्न सकिन्छ महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी राजस्व दाखिला
- सबैभन्दा पहिले गुगल क्रोम वा कुनैपनि इन्टरनेट ब्राउजर खोल्ने
- त्यहाँ महालेखाको राजस्व पोर्टल “revenue.fcgo.gov.np” को एड्रेस टाइप गर्ने।
- त्यसमा सेवा प्रदायकले आफ्नो मोबाइल नम्बर राखेर साइन इन गर्ने। यसपछि तत्काल मोबाइलमा ओटीपी आउनेछ।
- सो ओटीपी नम्बर राख्ने र भेरिफाई गर्ने।
- यसपछि सिधै सो ब्राउजरमा तल दाहिने भागमा देखिने “रद्द गर्नुहोस्” मा मात्र क्लिक गर्नुहोस्। तर त्यसमा भएको “प्रयोगकर्ता विवरण” मा कुनै डाटा नराख्नुहोस्।
- अब फेरी “नयाँ भौचर ” ट्याबमा जानुहोस्।
- त्यसपछि “सङ्घीय सरकार” लेखिएकोमा क्लिक गर्नुहोस्।
- अब “नयाँ राजस्व भूक्तानी” भित्र रहेको सर्च बक्समा ३५ टाइप गर्नुहोस् र सर्कल छनोट गर्नुहोस् त्यसपछि नयाँ सर्च बक्स आउनेछ र त्यसमा ३५८००३५०१ टाइप गरेर त्यसलाई छनोट गर्नुहोस र “नयाँ” लेखिएको बटमा क्लिक गर्नुहोस् । त्यसपछि नयाँ स्क्रीन देखिनेछ र त्यसमा जानुहोस्।
- त्यसपछि तपाईँले रसिद प्रविष्टि स्क्रीन देख्नुहुनेछ। अब तपाईँले दाहिने भागमा दस्तुर तिर्ने आफ्नो संस्थाको पान नम्बर हाल्नुहोस्। यहाँ “अंग्रेजी नाम” बाहेक सबै बिबरणहरु डीफल्टमा हुनेछन्। जसमा तपाईँको कम्पनीको अंग्रेजीमा नाम लेख्नुहोस्। अब यसपछि दोस्रो पङ्क्तिको पहिलो स्तम्भ वा कोलममा एभरेष्ट बैंक वा राष्ट्रिय बाणिज्य बैंक छनोट गर्नुहोस्। त्यसपछि अन्तिम लाइनमा जानुहोस् र “शीर्षक” ड्रप डाउन एरोमा क्लिक गर्नुहोस् र “१४२२९ फ्रिक्वेन्सी सम्बन्धित राजस्वका लागि अन्य प्रशासकीय सेवाहरू र १४१५९ राजस्व रोयल्टी सम्बन्धित राजस्वका लागि अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने” चयन गर्नुहोस्। अब “बिबरण” बक्समा तपाईँले “सम्बन्धित आर्थिक वर्षको लागि फ्रिक्वेन्सी शुल्क वा रोयल्टी(frequency fee or royalty for the related fiscal year)” टाइप गर्नुहोस्, त्यसपछि “रकम” लेखिएको बक्समा आवश्यक राजस्व रकम प्रविष्ट गर्नुहोस्। “कर वर्ष” को रूपमा २०७९/८० चयन गर्नुहोस् त्यसपछि “नेक्स्ट (Next)” बटनमा क्लिक गर्नुहोस्।
- अब तपाईँ “भूक्तानीकर्ता विवरण” मा पुग्नुहुनेछ। यहाँ “सेभ गर्नुहोस् र भूक्तानी गर्नुहोस्” बटनमा क्लिक गर्नुस् र “पे नाउ pay now” बटन थिच्नुहोस्।
- यदि तपाईँसँग ईसेवा अथवा कनेक्ट आईपीएस छ भने सिधै निशुल्क प्रयोग गरेर रकम तिर्नसक्नुहुनेछ। अन्यथा तपाईँ फेरी पहिलो स्क्रीनमा जानुपर्नेछ। यहाँ तपाईँले “क्लिक टू गो ब्याक”मा क्लिक गरेर तथा माथिल्लो भागको कुनामा रहेको होल्ड गरेर हिस्ट्रि एरो हेर्न सक्नुहुनेछ। यसले तपाईँलाई चार कदम पछाडि लग्नेछ। त्यसपछि तपाईँले “भूक्तानी नगरिएको भौचर” मा जानुपर्नेछ। यस भौचरलाई प्रिन्ट गर्नसक्नुहुनेछ। यसको लागि दायाँ भागमा रहेको “कार्यहरू” को मुनि रहेको प्रिन्ट आईकनमा क्लिक गरेर हार्डकपी प्राप्त गर्नसक्नुहुनेछ।
- उक्त प्रिन्ट गरिएको भौचरका साथमा तपाईँले बैंक काउन्टरमा गएर नेपाल दूरसञ्चार प्राधिकरणले वा सञ्चार मन्त्रालयले बताएअनुसार राजस्व रकम जम्मा गराउन सक्नुहुनेछ।
- भौचर प्रिन्ट गरिसकेपछि उक्त स्क्रिनबाट साइन आउट गर्न नबिर्सनुहोला। नत्र तपाईँले अर्को पटक यस्तै राजस्व रकम दाखिला गर्न र बिबरण भर्ने बेलामा दु:ख पाउनुपर्ने हुनसक्छ।
अब यसरी राजस्व तिरेकाहरुको मन्त्रालयले नगदी रसिद सम्बन्धित राजस्व दाखिलाकर्तालाई निजको ठेगानामै र प्राधिकरणमा सोझै विवरण सहित उपलब्ध गराउने छ भने प्राधिकरणले यसरी राजस्व बुझाएका सम्बन्धित सेवा प्रदायकहरूको नवीकरण भएको जानकारी मन्त्रालयमा उपलब्ध गराउने ब्यवस्था मिलाउनु पर्ने निर्देशन समेत मन्त्रालयले दिएको छ।
प्रकाशित: २४ असार २०८०, आईतवार