
काठमाडौं ।
नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित भएको २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ। यसअनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ। १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु.२ मात्र महशुल लाग्नेछ। दुई मिनेटको समयावधिलाई एक कल मानिने बताएको छ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ। उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।
१६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ।
यसैगरी नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ।
नतिजा प्रकाशित भएको केही समय पश्चात नै यो सुविधा उपयोग गर्न सकिने छ। यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीले अपेक्षा राखेको छ।
प्रकाशित: २१ असार २०८०, बिहीबार