सरकारका वेबसाइटहरु नै सुरक्षित छैनन्ः बागमती प्रदेश सभामुख पाठक

  • Technology Khabar | २१ असार २०८०, बिहीबार
सरकारका वेबसाइटहरु नै सुरक्षित छैनन्ः बागमती प्रदेश सभामुख पाठक

काठमाडौं ।

बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नसकेको बताएका छन्। बिहीबार हेटौंडामा नेपाल दुरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेबसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताए।

सरकारका कामहरु पेपरलेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी रहेको उनले बताए। सरकारले साइबर सुरक्षा सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाई छ।

‘हामी पेपरलेस गभर्नेन्स तर्फ अघि बढी रहेका छौं । तर, हाम्रो सरकारको वेबसाइट र डाटा सेन्टरहरु सुरक्षित छैनन् । कनै पनि समय हाम्रा वेवसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन्,’ उनले भने, ‘सरकारले आफ्नो सिस्टम विकास गरेर वेवसाइट र डाटा सेन्टरहरुलाई सुरक्षित गर्नुपर्छ । त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारले साइबार सुरक्षा न्यूनिकरणमा जोड दिनुपर्छ।’

पछिल्लो समयमा साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको उनले बताए। सरकारले साइबार अपराध न्यूनिकरण तर्फ आवश्यक तयारी गर्न जरुरी रहेको उनको भनाई छ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशन विजय कुमार रोयले दूरसंचार सेवाको पहुँच ७७ ओटै जिल्लाका स्थानीय तहमा फोरजी र ब्रोडव्याण्ड इन्टरनेट सेवाको विस्तार भएको बताए। सेवाको विस्तारसहित चुनौतिको पनि सोही अनुसार बढ्दो क्रममा रहेको उनको भनाई छ।

‘विगत २५ वर्षदेखि प्राधिकरणले दुरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा काम गर्दै आएको छ। दुरसंचार सेवाको विकास तथा विस्तारको लागि नीति निर्माण गर्ने कार्यमा सरकारको सल्लाहकारको रुपमा काम गरिरहेको छ। गुणस्तरीय तथा उचित मुल्यमा दुरसञ्चार सेवा उपलब्ध गराउन र सेवा प्रदायकहरु बिच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने काम गरिरहेको छ।’ उनले भने ।

ब्रोडव्याण्ड इन्टरनेट सेवाको बिस्तारसंगै अनलाईन सेवाहरुको उपलब्धता र प्रयोगमा पनि वृद्धि हुँदा जोखिम पनि सोही अनुपातमा बढ्दो क्रममा रहेको उनको भनाई छ।

‘बालबालिका देखि नीति निर्माणकर्ता समेत अनलाईन जोखिममा पर्ने गरेको र साइबर आक्रमणको सिकार बनेका छन्। डिजिटल भुक्तानी प्रविधिमा बढ्दो आकर्षणले थप सुरक्षा चुनौति थपिएको छ। यसको न्यूनिकरण जरुरी रहेको र आम नागरिकदेखि नीति निर्माणकर्ताहरु सो जोखिमको नियन्त्रणमा जागरुक हुनु आवश्यक रहेको छ,’ उनले भने ।

साइबर सुरक्षाका विषयमा नीति निर्माणसंगै चुनौति न्यूनिकरणका लागि आम नागरिकहरुलाई अभिमुखिकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ। मल्टिफ्याक्टर अथेन्टिकेशन र आफ्नै नामको सिमकार्ड प्रयोग गर्दा साइबर सुरक्षा जोखिम कम हुने उनले बताए।

यस्तै बागमती प्रदेशका ८० जना सांसदहरुको उपस्थिती रहेको उक्त तालिममा साइबर सुरक्षामा तीनै तहका सरकारले इथिकल ह्याकरलाई क्यापिटलाइज गर्नुपर्ने क्यान महासंघ नेपालका महासचिव चिरञ्जिवी अधिकारीले बताए। सफ्टवेयरबाट समृद्धि भन्ने नारालाई आत्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने उनले बताए।

प्रविधिको बढ्दो प्रयोगसंगै साइबार सुरक्षाको विषयलाई विद्यालय स्तरबाटै अनिवार्य शिक्षाको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा उनले जोड दिए। साइबर सुरक्षाको चुनौतिहरुलाई न्यूनिकरणका लागि हरेक स्थानीय तहमा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्नुपर्ने उनको भनाई छ।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...