
काठमाडौं ।
‘वान एक्स बेट’का नेपाली एजेन्ट दिनेश खड्कासहित १३ जना विरुद्ध प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ।
बुधबार कैलाली घर भएका २९ वर्षीय दिनेश खड्कासहित १३ जनामाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताएका छन्।
सट्टेबाजी खेलाएको आरोपमा जेठ ३० मा कैलाली घर भएका २९ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धिताल, नुवाकोटका आशिष लामिछाने, भक्तपुरका दिपेश श्रेष्ठ र कञ्चनपुरका दिनेश चन्दलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार र युट्युबर पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारहरु पवन खतिवडा ‘म्याकुरी’, बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी), राजु पौडेल (राजु मास्टर) र सरोज घिमिरे (ढेडुबुढो) लाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
वान एक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर गणेश देवकोटा, जलन घर्ती मगर र अलिस राई पक्राउ परेका थिए।
सट्टेबाजी गराएर दिनेश खड्काले सबैभन्दा धेरै कारोबार गरेको भेटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खड्काले १२ ओटा खातामार्फत ६४ करोड र ४२ वटा खाता प्रयोग गरेर थप ३१ करोड ३२ लाख कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ। दिपेश श्रेष्ठले ५ करोड कारोबार गरेको भेटिएको छ।
आरोपितहरुले १ अर्ब ५ करोडभन्दा धेरैको कारोबार गरेको भेटिएको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरुलाई ‘सट्टेबाजी गर्न नहुने’ कसुरमा सजाय र बिगो मागदाबी लिन सरकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाएको छ। वान एक्स बेटका एजेन्ट खड्काले क्रिप्टो करेन्सीको कारोबार पनि गरेको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ।
यसैबीच वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ। उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना ४२ ओटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृतरुपमा खातामा रु ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार निज अभियुक्तबिरुद्ध दुई पीडितले बैङ्किङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ।
प्रकाशित: २१ असार २०८०, बिहीबार