धादिङ प्रशासनमा ईपासपोर्टका लागि ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा

  • Technology Khabar | २० असार २०८०, बुधबार
धादिङ प्रशासनमा ईपासपोर्टका लागि ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा

काठमाडौं ।

राष्ट्रिय परिचयपत्रकै आधारमा जिल्ला प्रशासनले राहदानी प्रदान गर्न थालेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले यही असार ३ गतेदेखि ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए।

“राहदानी बनाउन साइबर तथा पसलबाट नै फाराम भरेर फोटो टाँस गरेर जिल्ला प्रशासन पुग्नुपर्थ्यो, खचाखच लाइनमा बस्नुपर्थ्यो । तर सेवाग्राहीले झेल्नु परेको त्यो झण्झटको अहिले अन्त्य भएको छ,” उनले भने, “ठगी गर्नेको नामनिसाना पनि मेटिएको छ।”

सेवाग्राहीको चापलाई ध्यानमा राखेर जिल्ला प्रशासनले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म दैनिक ७० जनाको कोटा नै छुट्याएर राहदानीको सिफारिस लिँदै आएको छ। शुक्रबार भने ५५ जनाको मात्रै सिफारिस लिने गरेको छ। लाइभ इन्डोरमेन्ट सेवा सञ्चालनमा नआउँदासम्म राहदानी बनाउन आउने अधिकांश सेवाग्राही फोटो खिच्ने र फाराम भर्ने नाउमा ठगिँदै आएका थिए ।

साइबर अथवा फोटो स्टुडियोको नामबाट सञ्चालन भएका ठगी गर्ने पसल धादिङबेँसीमा मात्रै एक दर्जनभन्दा बढी छन्। दैनिक ७० जनाबाट प्रतिव्यक्ति कम्तीमा पाँच सय भन्दा बढी लिने गरेका थिए। टोकन मिलाइदिन्छु भन्दै पनि हरेक व्यक्ति एक हजारदेखि एक हजार पाँच सयसम्म लिने गरेका थिए ।

अहिले सेवाग्राहीलाई फाइदा भएको जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर सेवाग्राहीलाई परामर्श दिँदै आएको सामी कार्यक्रमका सूचना तथा परामर्शकर्ता विनोद ढकालले बताए। अहिले राष्ट्रिय परिचयपत्र बनाएर प्रशासनबाट टोकन लिएपछि नामलिष्ट तयार गरेर सेवा दिने गरेको छ।

“एमआरपी फारम भरेर मात्रै प्रशासन पुग्नुपर्ने, सेवाग्राही आफैले भर्न सहजै नसक्ने भएकोले साइबर तथा दलाल भएको ठाउँमा पुग्न बाध्य हुन्थे,” उनले भने, “अहिले सेवाग्राही त्यसरी ठगिनु परेको छैन ।”

प्रशासनले लाइभ इन्डोरमेन्ट सेवा सुरु गरेदेखि सेवाग्राही राम्रो प्रतिक्रिया दिने गरेका छन् । असार ३ देखि लागू गरेको सेवालाई धेरै जनाले राम्रो भनेको जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाको भूपेन्द्र खनालको भनाइ छ।

जिल्ला प्रशासन कार्यलय राहदानी शाखाको तथ्याङ्क अनुसार यस वर्षको वैशाखदेखि असार १५ गतेसम्म (साढे दुई महिना)मा तीन हजार नौ सय २२ जनाले राहदानी बनाएका छन्। एक हजार चार सय ५५ महिला र दुई हजार चार सय २३ पुरुषले राहदानी बनाएका छन्। चौवालीस नाबालकले राहदानी बनाएका छन्।

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...