
काठमाडौं ।
भारतीय टेलिकम अपरेटर भोडाफोन आइडियाले देशका १७ टेलिकम सर्कलमा फाइभजी सेवा सुरु गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले नयाँ लगानीकर्ता खोज्न थालेको छ।
भीआई (भोडाफोन आइडिया) ले देशमा ५जी रोल आउट गर्ने तयारी सुरु गरेको छ। गत वर्ष अक्टोबरमा देशमा फाइभजी सेवा सुरु गरेपछि, अन्य दुई प्रमुख निजी टेलिकम कम्पनीहरू जियो र एयरटेलले ५०० भन्दा बढी शहरहरूमा आफ्नो ५जी सेवा सुरु गरेका छन्।
मुख्यतया कम्पनीको आर्थिक अवस्थाका कारण यी दुवै दूरसञ्चार कम्पनीभन्दा भी भनेर चिनिने कम्पनी पछाडि परेको छ। भोडाफोन-आइडिया धेरै ऋणमा छ, जसका कारण कम्पनीले ५जी स्पेक्ट्रम लिलामीमा पनि कम स्पेक्ट्रम किनेको छ। यसका साथै कम्पनीले विगतको बक्यौता चुक्ता गर्न निरन्तर प्रयास गरिरहेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
रिपोर्टकाअनुसार कम्पनीले आफ्नो हालैको २०२३ वित्तीय वर्षको वार्षिक प्रतिवेदनमा ५जी रोल आउट गर्न र यसको प्रत्यक्ष परीक्षणको लागि ओईएमहरु अर्थात् मूल उपकरण निर्माताहरूसँग वार्ता सुरु गरेको बताएको छ।
भीका अध्यक्ष रविन्दर टक्करले कम्पनीले आफ्नो ४जी कभरेज अपग्रेड गर्न र ५जी लन्च गर्न उत्सुक रहेको बताएका छन्। कम्पनीले फोरजी कभरेज सुधार गर्न अझै पनि लगानी जारी राख्नेछ। विशेषगरी देशका १७ प्राथमिकताप्राप्त दूरसञ्चार सर्कलमा रकम जुटाएर फाइभजी सेवा सुरु गरिनेछ।
इन्डस टावर्सका प्रमुख वित्तीय अधिकृत विकास पोद्दारले भर्खरै सम्पन्न इन्भेष्टर्स समिटमा भीले आफ्नो विद्यमान मासिक शुल्कको शतप्रतिशत तिर्न थालेको तर कम्पनीले रकम उठाउन नभई आफ्नो विगतको बक्यौता तिर्न नसक्ने बताए। हाल भोडाफोन-आईडियाको करिब ७,००० करोड भारतीय रुपैयाँ ऋण छ, जुन कम्पनीको राजस्वको ४० प्रतिशत हो। कम्पनीले लगानीकर्ता मार्फत २०,००० करोडको कोष जुटाउने प्रयास गरिरहेको छ।
डिजिटल सेवाहरू मार्फत कोष उठाउने
५जी रोल आउट गर्नु अघि, भीले प्रयोगकर्ताहरूका लागि धेरै डिजिटल सेवाहरू सुरू गरेको छ। कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा भी ले लाइभ टिभी, मनोरञ्जन, संगीत, भिडियो, गेमिङ, शिक्षा, सीप र स्वास्थ्य आदि लगायत विभिन्न कोटीहरूमा डिजिटल सेवाहरू उपलब्ध गराउने बताएको छ। यी सबै सेवाहरू कम्पनीको माईभी मोबाइल एप मार्फत प्रयोगकर्ताहरूलाई उपलब्ध हुनेछन्।
भोडाफोन आईडीयाले पनि एयरटेल र जियो जस्तै आफ्नो डिजिटल समुदायलाई बढाउने तयारी गरिरहेको हो। यस मार्फत कम्पनीले डिजिटल सेवा प्रदायकहरूबाट पैसा सङ्कलन गर्न मद्दत गर्नेछ। कम्पनीले आफ्नो डिजिटल सेवाहरू मुद्रीकरण गर्ने तयारी गरिरहेको छ।
प्रकाशित: १७ असार २०८०, आईतवार