
काठमाडौं ।
नवीन खोज, अनुसन्धान र विकास भन्ने उद्घोषका साथ युवा वैज्ञानिक सम्मेलन शुक्रबार धनगढीमा सुरु भएको छ। दुईदिने सम्मेलनमा रोवटिक्स फुटबल र यन्त्र रोवटिक्स रेससम्बन्धी प्रतिस्पर्धा भइरहेका छन्।
फुटबलमा ११ र रेसमा १६ टिमबिच प्रतिस्पर्धा भइरहेको छ। दुई ओटै विधाका विजेता खेलाडीलाई पुरस्कार दिइने जनाइएको छ। प्रतियोगिताका लागि कै लाली, कञ्चनपुर, बैतडी, बझाङ, दार्चुलालगायतका जिल्लाबाट आएका दुई सय युवा तथा विद्यार्थी सहभागी छन् ।
युवा वैज्ञानिक सम्मेलनमा सुदूर पश्चिमका साथै सुर्खेत र काठमाडौँबाट आएकाले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने कार्य भइरहेको मूल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको प्रदेश युवा परिषद्का सदस्यसचिव युवराज कुँवरले जानकारी दिए।
सम्मेलनमा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तिलाई एक लाख रुपियाँ राशिको पुरस्कार दिने कार्यक्रम छ।
कार्यक्रम उद्घाटन गर्दै सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम तय गरिने बताए। गोरखापत्रबाट
प्रकाशित: १६ असार २०८०, शनिबार