
काठमाडौं ।
व्यापार र रोजगार केन्द्रित सामाजिक सञ्जाल लिंक्डइन नेपालमा दर्ता भएको छ। आन्तरिक राजश्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले एक महिना अघि विद्युतीय सेवा करको दायरा अनुरुप लिंक्डइन दर्ता भएको जानकारी दिए।
भर्खरै लिंक्डइन दर्ता भएको छ, प्याकुरेलले टेक्नोलोजीखबरसँग भने, कार्यालया खोल्ने विषयमा कम्पनी आन्तरिक गृह कार्यमा रहेका हुन सक्छ।
आन्तरिक राजश्व कार्यालयमा दर्ता भएसँगै माइक्रोसफ्ट अन्तर्गतको लिंक्डइनले दुई प्रतिशत विद्युतीय सेवा कर र १३ प्रतिशत मूल्य अभिवृद्धि तिर्ने प्रवक्ता प्याकुरेलले जानकारी दिए।
चालु आर्थिक वर्ष २०७९÷८० बजेट मार्फत सरकारले विद्युतीय माध्यमबाट सेवा प्रदान गर्ने कम्पनीलाई करको दायरामा ल्याएको थियो।
आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको थियो।
केही समय अघि नेपालमा गुगल र इबिस्को इङ्क लगायत चर्चित प्राविधिक कम्पनी पनि दर्ता भइसकेका छन्।
प्रकाशित: ११ असार २०८०, सोमबार