काठमाडौं ।
विभिन्न आईटी पसल र आईटी कम्पनीमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले आईतबार मानभवनमा रहेको ग्लोवल लिङ्क टेक्नोलोजी प्रा.लि. को झ्यालको ग्रील तोडफोड गरी कार्यालयभित्र प्रवेश गरी नगद तथा ल्यापटपलगायतका सामाग्रीहरु चोर्ने दुईजनालाई पक्राउ गरेको हो।
प्रहरीले कामनपा वडा नं.१ नक्सालका ३९ वर्षको सुवोध श्रेष्ठ तथा वडा नं.२६ लैनचौर स्थायी घर भएकी १९ वर्षकी रोशनी महर्जनलाई रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेण्टबाट पक्राउ गरेको हो।
दुबैले जेठ २८ गते राती ललितपुर जिल्ला लपु मनपा वडा नं.५ मानभवन, ललितपुरमा ओम प्रकाश प्रधानले संचालन गरेको ग्लोवल लिङ्क टेक्नोलोजीको झ्यालको ग्रील तोडफोड गरी कार्यालयभित्र प्रवेश गरी नगद काउण्टरको सेफभित्र रहेको बिभिन्न दरका एक लाख आठ हजार छ सय चौबिस रुपैयाँ नगद, सोही कम्पनिको प्रमूख कार्यकारी अधिकृतको कोठाबाट सैतिस हजार रुपैयाँ र डेल भोस्ट्रो ७५०० ल्याप्टप समेत चोरी गरेका थिए।
सुबोधले यसअघि पनि विभिन्न स्थानमा रहेका आइटी पसलहरु र कार्यालयहरुबाट सामानहरु चोरी गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ।
उनीहरुले अस्ट्रेलिया जान पैसा जम्मा गर्नका लागि चोरी गरेको बताएका छन्।
सो चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले सोल्टी सिटी अपार्टमेण्टको आठौं तलामा रहेको कोठामा कानूनी प्रकृया पूरा गरी रीतपूर्वकको खानतलासी गर्ने क्रममा बिल भरपाई नभएका ल्यापटप मोबाइल प्रिन्टर तथा नगदसहितका दशीका सामानसहित पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान भईरहेको जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटपहरु तथा चोरी गर्ने उपकरणहरु मोबाइल,तथा अन्य सामाग्रीहरु बरामद गरेको बताएको छ।
प्रकाशित: ११ असार २०८०, सोमबार