अन्तरिक्ष यानले ल्याएको क्षुद्रग्रहको नमूनामा वैज्ञानिकहरुले भेटे नुन !

  • Technology Khabar | १ असार २०८०, शुक्रबार
अन्तरिक्ष यानले ल्याएको क्षुद्रग्रहको नमूनामा वैज्ञानिकहरुले भेटे नुन !

काठमाडौं ।

अनुसन्धानकर्ताहरूले जापानी अन्तरिक्ष यानले पृथ्वीमा ल्याइएको एउटा क्षुद्रग्रहको नमूनामा नुन (सोडियम क्लोराइड) क्रिस्टल फेला पारेका छन्। जापानको हायाबुसा मिसनले सन् २००५ मा क्षुद्रग्रह वा एस्टेरोइड इटोकावाबाट नमूना सङ्कलन गरेको थियो। नमूना सन् २०१० मा पृथ्वीमा ल्याइएको थियो। यसको विश्लेषण गर्दा नुनको क्रिस्टल फेला परेको छ, जुन घरमा प्रयोग हुने नुनको क्रिस्टल जस्तै देखिन्छ।

यो आफ्नै प्रकारको पहिलो अनुसन्धान हो, जसले पृथ्वीमा नुन क्रिस्टलहरू यसको मूल क्षुद्रग्रहबाट आएको बताउँछ। इटोकावा एक एस-प्रकारको क्षुद्रग्रह हो। विगतमा पृथ्वीमा यस्ता उल्कापिण्ड र क्षुद्रग्रहहरू भेटिएका छन्।

गत वर्षको एक अध्ययनले पनि पृथ्वीमा पानी क्षुद्रग्रहबाट आएको हुनसक्ने खुलासा गरेको थियो। पृथ्वीमा ल्याइएको एस्टेरोइड रयुगु (Ryugu) का नमूनाहरू परीक्षण गरेपछि अनुसन्धानकर्ताहरू यस्तो निष्कर्षमा पुगेका हुन्। यी नमूनाहरू जापानको अन्तरिक्ष यान हायाबुसा-२ ले पनि संकलन गरेको थियो।

अनुसन्धानकर्ताहरूकाअनुसार सोलार नेबुलाको भित्री क्षेत्रमा पृथ्वीको उत्पत्ति भएको विश्वास छ, जहाँ तापक्रम निकै उच्च थियो। यसको मतलब यो हो कि पृथ्वीमा पानी सौर्य नेबुलाको बाहिरी क्षेत्रहरूबाट आउनुपर्थ्यो, जहाँ तापक्रम न्यून हुने थियो। वैज्ञानिकहरूले सोलार नेबुला बाहिरका धूमकेतु र क्षुद्रग्रहहरू पानी पुर्याउन पृथ्वीसँग ठोक्किएको विश्वास गर्छन्।

शोधकर्ताहरूले नुन अर्थात सोडियम क्लोराइड पत्ता लगाएको नमूना धुलोको कण हो जसको व्यास १५० माइक्रोमिटरको मात्र छ। यो मानव कपालको दोब्बर चौडाइ आकार हो। टोलीले यस कणको सानो भागको जाँच गर्यो, जुन मात्र ५ माइक्रोन चौडा थियो।

अनुसन्धानकर्ताहरूले नमूना कुनै पनि हिसाबले दूषित भएको कुरा अस्वीकार गरेका छन्।अनुसन्धान सुरु गर्नु अघि, वैज्ञानिकहरूले राम्रोसँग नमूना परीक्षण गरेको बताईएको छ। सो नमूना ५ वर्षसम्म सुरक्षित गरिएका थिए। नमूनामा फेला परेको नुन इटोकावाको हो भन्ने निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्।

नेचर एस्ट्रोनोमीमा यो अनुसन्धान र खोज बारेमा जानकारी प्रकाशित रहेको छ। अध्ययनका वरिष्ठ लेखक तथा यूएरिजोना लुनार एण्ड प्लानेटरी ल्याबोरटरीमा ग्रह विज्ञानका प्राध्यापक टम जेगा र अध्ययनका प्रमुख लेखक र लुनार एण्ड प्लानेटरी ल्याबोरटरीमा पोस्ट डक्टरल फेलो शाओफान चेले क्षुद्रग्रह इटोकावाबाट सङ्कलन गरिएका नमूनाहरूको विस्तृत विश्लेषण गरेका छन्।

प्रकाशित: १ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...