
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन सबैसँग आग्रह गरेको छ।
वित्तीय क्षेत्रको नियामक निकायले विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट वान टाइम पासवर्ड (One Time Password (OTP)/निश्चित अंकको नम्बर नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको भन्दै सचेत हुन भनेको हो।
राष्ट्र बैंकले यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ/ इन्टरनेट बैंकिङ/कनेक्ट आईपिएस/वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुयाई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको जनाएको छ।
“यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टल (Financial Consumer Protection Portal) मा दर्ता गराउनुहुन वा यस बैंकको ईमेल ठेगाना gunaso [email protected] मा अविलम्ब जानकारी गराउनुहुन सूचित गरिन्छ,” बैंकले जारी गरेको सूचनामा भनिएको छ।
यसका साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुले समेत यस्ता अवाञ्छित गतिविधिहरुलाई सुक्ष्मरुपमा निगरानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।
प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार