वानएक्सबेटमार्फत सट्टाबाजी गर्ने र क्रिप्टो कारोबारमा संलग्न पाँच पक्राउ, ७४ करोड रुपैयाँको कारोबार

  • Technology Khabar | ३१ जेष्ठ २०८०, बुधबार
वानएक्सबेटमार्फत सट्टाबाजी गर्ने र क्रिप्टो कारोबारमा संलग्न पाँच पक्राउ, ७४ करोड रुपैयाँको कारोबार

काठमाडौं ।

बेटीङ एप्लिकेसन वान एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौं चावहिल बस्ने २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोक घर भई काठमाडौं चावहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन्।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुबहाल, मध्यपुर ठिमी, सानो भर्याङ, बुद्धनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

साथै उनीहरूको साथबाट ४ थान ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका एटिम ५ थान, विभिन्न बैंकका चेकबुक १४ थान र राउटर ५ थान प्रहरीले बरामद गरेको छ।

उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार उनीहरुले विभिन्न कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार