
काठमाडौं ।
सरकारले एनसेल आजियाटा लिमिटेड विरुद्धको पूँजीगत लाभकर बारेको अन्तराष्ट्रिय मुद्दा जित्नु मुलुकको लागि हितजन्य भएको जनाएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले एनसेलको पूँजीगत लाभकर विवादको बारेमा परेको आर्विट्रेसनको मुद्दामा नेपाललाई जित हासिल गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
आजको बैठकको बारेमा जानकारी दिँदै कानून मन्त्री धनराज गुरुङ्गले नेपाल पक्षले हारेको भए ६०/६५ अर्ब नोक्सानी हुने अवस्था रहेको बताए।
“हामीले मुद्दा जितेको हुँदा आर्विटरी लगायतका केहि शुल्कहरुसहित करिब १ अर्ब विभिन्न रकम मात्र खर्च गरेर हुने भयो। र यो मुलुकको लागि हितजन्य कार्य भएको र जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छौं,” उनले भने।
उनले विशेषगरी कानून न्याय तथा संसदिय व्यवस्था मन्त्रालय, सरकारी पक्षमा लडेका कानून व्यवसायीहरुसहित अन्य पक्षलाई धन्यवाद दिएको जानकारी दिए।
पूँजीगत लाभकर विवादमा नेपाल सरकारविरुद्ध एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटामा लगानी गरेको आजियाटा इन्भेष्टमेन्टस यूके लिमिटेड र एनसेल आजियाटा लिमिटेडले संयुक्तरुपमा सो विवाद समाधान गर्न विश्व बैंक अन्तरगतको संस्था इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट इन्भेष्टमेन्ट डिस्प्यूट्स (आईसीएसआईडी) मा मध्यस्थताको लागि निवेदन दिएका थिए।
सोही मुद्दाको अन्तिम फैसलामा केहि दिनअघि नेपालको पक्षमा निर्णय भएको हो।
प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार