
काठमाडौं ।
मल्लरानी गाउँपालिका–२, चुँचाकी सीता पुनलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सदरमुकामसम्म आउन परेन । जिल्ला प्रशासन कार्यालय पुगेर बनाउनुपर्ने राष्ट्रिय परिचयपत्र वडामै बनेपछि पुनलाई सहज भएको हो। राष्ट्रिय परिचयपत्र बनाउन जिल्लामा अहिले अभियान नै सञ्चालन भएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउने टोली अहिले स्थानीय तहका वडा वडामा पुगेका छन्। एउटा वडामा कम्तीमा १४ दिनसम्म अभियान सञ्चालन गरिएको छ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले पाँच ओटा स्थानीय तहमा अभियान पुगेको र अरू स्थानीय तहमा क्रमशः सञ्चालन हुँदै जाने बताए। प्रत्येक वडामा दुई वटा स्टेसन राखेर राष्ट्रिय परिचयपत्रको अफलाइन विवरण सङ्कलन गरिने प्रशासकीय अधिकृत सोनीले बताए।
मल्लरानी गाउँपालिका–५ का वडाध्यक्ष गोपालबहादुर थापाले वडास्तरमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भएपछि वडाका नागरि कलाई सहज भएको बताए। गोरखापत्रबाट
प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार