नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुँदै

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार
नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुँदै

काठमाडौं ।

‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन’ मूल नाराका साथ नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा सोमबारदेखि सुरु हुने सो सम्मेलन मङ्गलबारसम्म चल्ने छ।

नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिबद्धता यो सम्मेलनले प्राप्त गर्ने बताउँदै नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घका अध्यक्ष डा. अतुल उपाध्यायले खाद्य स्वच्छ, खाद्य सुरक्षा र पोषणको अवस्थामा थप सुदृढीकरण गर्ने उद्देश्य रहेको बताए। समग्र खाद्य इको सिस्टमको दिगो विकास गर्न पनि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूहरूले लिएको अध्यक्ष उपाध्यायले बताए।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा सात ओटा सत्र छन्। त्यसमा देश तथा विदेशका गरी २४ वटा कार्यपत्र प्रस्तुत हुने सङ्घले जनाएको छ। सम्मेलनमा खाद्य प्रणाली, खाद्य प्रविधि र विज्ञान, पोषण, खाद्य सुरक्षा, जलवायु परिवर्तन र नवप्रवर्तनको विषयलाई सम्बोधन गर्ने बताइएको छ।

उच्च मूल्य जाने बालीका उत्पादन र प्रशोधन तथा सर्टिफिकेसन, रैथाने प्रविधि र बालीको महत्व, खाद्य र पोषण सुरक्षामा जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण गर्नेलगायतका विषयमा पनि छलफल हुने सङ्घले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार