भारतीय कम्पनी हिरोले नयाँ टू ह्विलर इभी लन्च गर्ने तयारी गर्दै, प्रिमियम सेग्मेन्टमा केन्द्रित हुने

  • Technology Khabar | २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन कम्पनी हिरो मोटोकर्पले आफ्नो विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको दायरा बढाउने तयारी गरेको छ। यससँगै कम्पनीले आफ्नो सेल्स नेटवर्कलाई पनि स्तरोन्नति गर्नेछ।

कम्पनीले ठूलो संख्यामा ग्राहकहरूसम्म पुग्नको लागि विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनमा नयाँ इन्ट्री-लेभल मोडलहरू लन्च गर्ने योजना बनाएको छ।

कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन गुप्ताले हिरो मोटोकर्पको प्रिमियम सेग्मेन्टमा फोकस बढाइने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

कम्पनीले विद्युतीय दुईपाङ्ग्रे सवारीको क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउन प्राथमिकता दिएको छ। गुप्ताले भने, “आउँदो वर्षको मार्च महिनाको अन्त्यसम्ममा हामी १०० सहरमा जानेछौँ। त्यसपछिको चार त्रैमासिकमा प्रवेश स्तर र मध्यम वर्गका उत्पादनहरू ल्याइनेछ।” उनले कम्पनीले ब्राण्ड स्थापना गरेको र उत्पादनको दायरा बढाउन आवश्यक रहेको बताए।

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनमा आफ्नो स्थिति बलियो बनाउनुका साथै हिरो मोटोकर्पले मोटरसाइकल (१६०-४५० सीसी) को प्रिमियम सेगमेन्टमा आफ्नो हिस्सा बढाउने योजना बनाएको छ। चालू आर्थिक वर्षमा कम्पनीले केही नयाँ प्रिमियम उत्पादनहरु सार्वजनिक गर्ने गुप्ताले बताए।

गत वर्ष हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भीडा भी१ दुई भेरियन्टमा लन्च गरेको थियो। विगत केही वर्षयता विद्युतीय सवारीसाधनको बिक्री बढेको छ। यद्यपि, हिरो मोटोकर्पले यो सेग्मेन्टमा आफ्नो प्रवेशमा ढिलाइ गरेको छ, जसले एथर इनर्जी र ओला इलेक्ट्रिक जस्ता स्टार्टअपहरूलाई फाइदा पुगेको छ।

हिरो मोटोकर्पले सेग्मेन्टमा आफ्नो पहिलो मोडल लन्च गर्नुअघि केही इलेक्ट्रिक गाडी स्टार्टअपहरूमा लगानी गरेको थियो।

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया