राष्ट्रिय परिचयपत्र सम्बन्धी सफ्टवेयरमा देखिएको समस्या समाधान, सेवा सञ्चालनमा

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी सफ्टवेयरमा देखिएको समस्या हल भएसँगै सेवा सञ्चालनमा आएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द हुँदा बिहीबारदेखि देशभरी सेवा अवरुद्ध रहन पुगेको थियो।

सफ्टवेयर देखिएको समस्या हल भएसँगै शुक्रबार बिहानदेखि सेवा सञ्चालनमा आएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) सूर्यबहादुर खत्रीले जानकारी दिए।

‘सफ्टवेयर मर्मत गर्दा बिहीबार समस्या आएर एक दिनभर सेवा बन्द रहेको थियो। सो दिन प्राविधिकहरुले समस्या पहिचान गर्न नसक्दा सेवा अवरुद्ध भएको हो,’ खत्रीले भने, ‘बिहीबार रातभर काम गरेर समस्या हल गरिएको हो।’

सफ्टवेयरमा देखिएको समस्या नेपालका रहेका कम्पनीका प्रतिनिधिले हल गर्न सक्दा फ्रान्समा रहेका माथिल्लो तहबाट सहयोग लिनुपर्दा एक दिन सेवा अवरुद्ध हुन गएको खत्रीले टेक्नोलोजीखबरलाई जानकारी दिए।

राष्ट्रिय परिचयपत्र निर्माण सम्बन्धी काम फ्रान्सको कम्पनी आइडेमियाले गर्दै आइरहेको छ।

राष्ट्रिय परिचयपत्र निर्माणका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग चार वर्षका लागि २०७६ असारमा सम्झौता भएको थियो। सोसम्बन्धी सफ्टवेयरका लागि करिब ८३ करोड रुपैयाँ र नेपालमा बनाइने पूर्वाधारका लागि १३ करोड ६१ लख रुपैयाँ लागतमा सम्झौता भएको हो।

मुलुकको सुरक्षा व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६/६७ मा सरकारको वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्ट कार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो।

त्यसपछि मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णय अनुसार छुट्टै निकायका रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गरी यससम्बन्धी कार्य भइरहेको छ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया