काठमाडौं ।
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दो छ। प्रयोगकर्ताको संख्या बढेसँगै तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ फागुन मसान्तसम्मको एमआईएस प्रतिवेदनमा अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान संख्या २६ लाख ३३ हजार ५०५ पुगेको देखिन्छ।
प्राधिकरणका अनुसार एक कनेक्सन बराबर ४.३७ जनाले इन्टरनेट उपयोग गर्छन्। यसका आधारमा तारबाट इन्टरनेट प्रयोग गर्ने ग्राहक १ करोड १५ लाख ८ हजार ४१६ पुगेको हो। प्राधिकरणका अनुसार नेपालमा ६२ ओटा आईएसपी सञ्चालनमा रहेका छन्।
ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। फागुन मसान्तसम्म वर्ल्डलिंकको ग्राहक ३२ लाख ८८ हजार ७ सय ४४ छन्।
यी हुन् नेपालका टप १० आईएसपी:-
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७९ फागुन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ७ लाख ५२ हजार ५७३ छ। जसमध्ये वायरलेस कनेक्सन १०७, केवल कनेक्सन १०३ तथा फाइबर कनेक्सन ७ लाख ५२ हजार ३६३ छ। ३२ लाख ८८ हजार ७ सय ४४ ग्राहक सहित नेपालको शीर्ष कम्पनीको रुपमा रहेको छ।
२. नेपाल दूसञ्चार कम्पनी
नेपाल दूसञ्चार कम्पनीको २ लाख ८७ हजार १९० इन्टरनेट जडान संख्या सहित दोस्रो स्थानमा छ। जसमध्ये केवल कनेक्सन ६४ हजार ३५६ तथा फाइबर कनेक्सन २ लाख २२ हजार ८३४ रहेका छन्। कम्पनीको ग्राहक संख्या फागुन मसान्तसम्म १२ लाख ५५ हजार २० पुगेको छ।
३. क्लासिकटेक प्रालि
क्लासिक टेक प्रालि २ लाख ७ हजार ३३ जडान संख्या सहित तेस्रो स्थानमा छ। जसमध्ये वायरलेस कनेक्सन ७०४ तथा फाइवर कनेक्सन २ लाख ६९ हजार ३२९ छ। कम्पनीको ग्राहक संख्या ११ लाख ८० हजार ४४ छ।
४. भायानेट कम्युनिकेशन प्रालि
चौथो नम्बरमा रहेको भायानेट कम्युनिकेशन प्रालिको फागुनको इन्टरनेट जडान संख्या २ लाख ६४ हजार ८३ छ। कम्पनीको कुल ग्राहक संख्या ११ लाख ५४ हजार ४२ छ।
५. सुविसु केवलनेट प्रालि
सुविसु केवलनेट प्रालिको इन्टरनेट जडान संख्या २ लाख ५५ हजार ३९४ छ।यसमध्ये ३ हजार ४३५ वायरलेस कनेक्सन, २७७ केवल तथा फाइबर २ लाख ५१ हजार ६८२ कनेक्सन छ। कुल ११ लाख १६ हजार ७१ ग्राहकसहित पाँचौं नम्बरमा परेको छ।
६. डीस मिडीया नेटवर्क
उत्कृष्ट १० को छैटौं नम्बरमा परेको डीस मिडीया नेटवर्क प्रालीको इन्टरनेट जडान संख्या २ लाख २९ हजार ६४६ छ। यसमध्ये २ लाख २९ हजार ६४६ फाइबर कनेक्सन छ।डीस मिडीया नेटवर्क प्रालीका पनि वायरलेस तथा केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। कुल ग्राहक संख्या १० लाख ३ हजार ५ सय ५३ छ।
७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
सूचीको सातौं नम्बरमा रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ४७ हजार ४४७ छ। यसमध्ये वायरलेस कनेक्सन २०३८ तथा फाइबर कनेक्सन १ लाख ४५ हजार ४०९ छ। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्। कुल ग्राहक संख्या ६ लाख ४४ हजार ३४३ छ।
८. टेकमाइण्ड्स नेटवर्क प्रालि
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख १५ हजार ४५८ छ। १ हजार ५७३ वायरलेस कनेक्सन तथा १ लाख १३ हजार ८८५ फाइबर कनेक्सन छ भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्। कुल ५ लाख ४ हजार५५१ ग्राहकसहित आठौँ नम्बरमा परेको छ।
९. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
उत्कृष्ट १० को नवौँ नम्बरमा परेको ब्रोडलिक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५३ हजार ८४४ छ। यसमध्ये फाइबर ५३ हजार ७४२ तथा वायरलेस १०२ छ। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्।कुल ग्राहक संख्या २ लाख ३५ हजार २९८ रहेको छ।
१०.सिजी कम्युनिकेसन प्रालि
उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ४६ हजार ७०२ छ। यो सम्पूर्ण संख्या फाइबरमार्फत् सेवा लिने ग्राहकहरुको हो।सिजी कम्युनिकेसन प्रालिले वायरलेस वा केबलमार्पत् सेवा उपलब्ध गराएको छैन। कुल ग्राहक संख्या २ लाख ४ हजार ८७ छ।
प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार