
काठमाडौं ।
अबदेखि सामाजिक संजालहरुमा कन्टेन्ट राखेर आम्दानी गर्नेहरुको आम्दानीमा थप कर लाग्ने भएको छ।
सरकारले कन्टेन्ट, परामर्श तथा सूचना प्रविधिकसम्बन्धी सेवा दिएबापत विदेशबाट हुने आम्दानीमा लाग्ने करको दरमा वृद्धि गरेकोछ।
बजेटमार्फत सरकारले आयकर ऐनमा संशोधन गर्दै कर बढाएको हो। जसअनुसार आयकर ऐनको दफा ९५क को उपदफा ६ख, ग र घ मा रहेको व्यवस्था संशोधन गरिएको छ।
नेपालमा कुनै पनि दर्ता व्यवसाय नभएको तर व्यक्तिगत रुपमा विदेशमा सेवा दिए बापत आउने विदेशी मुद्राको आम्दानीमा यस्तो कर अबदेखि ५ प्रतिशत लाग्ने भएको छ।
गत वर्षदेखि सरकारले यस्ता सेवाबाट हुने आम्दानीलाई करको दायरामा ल्याएको थियो भने मनि ट्रान्सफरमा १ प्रतिशत कर लगाउने व्यवस्था गरेको थियो।
यसैगरी युट्युबमार्फत कन्टेन्ट क्रिएट गर्नेहरूले गर्ने आम्दानीमा समेत १ प्रतिशतबाट बढेर कर ५ प्रतिशत पुराईएको छ।
प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार