भन्सार प्रणाली र कर प्रणालीबीच अन्तरआवद्धता कायम गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
भन्सार प्रणाली र कर प्रणालीबीच अन्तरआवद्धता कायम गरिने

काठमाडौं ।

सरकारले भन्सार प्रणाली र कर प्रणालीबीच अन्तरआवद्धता कायम गर्ने भएको छ। कराधार विस्तार तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइन यस्तो गर्न लागिएको अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

आन्तरिक राजस्व विभागबाट कर प्रशासनका लागि सञ्चालन भइरहेको एकीकृत कर प्रणाली, भन्सार विभागबाट मालवस्तु जाँचपास व्यवस्थापनका लागि प्रयोगमा रहेको आशिकुडा र राजस्व अनुसन्धान विभागबाट प्रयोग भइरहेको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीबीच सम्वत् २०८० पुस मसान्तसम्ममा अन्तरआवद्धता कायम गरी स्वचालितरूपमा सूचना आदानप्रदान हुने व्यवस्था मिलाई कराधार विस्तार तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने भएको हो।

उनले  घोषणामा भने, “भन्सार मूल्याङ्कनलाई कारोबारमा आधारित बनाई यथार्थपरक बनाउन अनलाइन मूल्याङ्कन तथ्याङ्काधार निर्माण गरी मूल्याङ्कन प्रणालीमा आवद्ध गरिनेछ।”

यसका साथै राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गरिने तथा व्यापारिक छली र झुट्टा तथा नक्कली बीजक प्रयोग नियन्त्रण गर्न आवश्यक कानूनी सुधार गरिने बताए।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार