आर्टिफिसियल इन्टेलिजेन्सको विकास भईरहँदा आईटीको भरपूर प्रयोग र विकास गर्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
आर्टिफिसियल इन्टेलिजेन्सको विकास भईरहँदा आईटीको भरपूर प्रयोग र विकास गर्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन्।

नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, “प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ। विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राद्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ।”

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उनले बताए। विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले भने,“विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव संशासनको स्थापनामा कृत्रिम बौद्धिकता(आर्टिफिसियल इन्टेलिजेन्स) को विकास भइरहेको अवस्था छ। हाम्रा विश्वविद्यालयहरुले सूचना प्रविधिको भरपूर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ। रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्रविधिको बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिने छ।”

देशमा व्यप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुसासन कामय गर्न लागिपरेको प्रधानमन्त्रीले बताए।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...